
बिर्तामोड, २७ साउन । बिर्तामोडबाट आज दुई जनाको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइएको छ।
बिर्तामोड नगरपालिका–१ कृषिथोक नजिकै कनकाई रोडमा बेवारिसे अवस्थामा भेटिएका ९० वर्षीय गौरीशंकर साहु र बिर्तामोड नगरपालिका–७ तित्रीडाँगीकी ४२ वर्षीया आलेखा बेगम मियालाई उद्धार गरी आश्रम पठाइएको हो।
बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले उनीहरूको उद्धार गरेको हो। उद्धारपछि दुवै जनालाई मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मासहितको टोलीलाई जिम्मा लगाइएको कार्यवाहक नगरप्रमुख संग्रौलाले जानकारी दिनुभयो।
नगरपालिकाका अनुसार मिया मानसिक असन्तुलनका कारण बजार क्षेत्रमा जथाभावी हिँड्ने गरेको अवस्थामा भेटिनुभएको थियो भने साहु कनकाई रोडमा बेवारिसे अवस्थामा फेला पर्नुभएको थियो।
कार्यवाहक नगरप्रमुख संग्रौलाका अनुसार बिर्तामोड नगरपालिकाले हालसम्म ३२ जनाभन्दा बढी असहाय तथा बेवारिसे अवस्थामा रहेका व्यक्तिको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइसकेको छ। मानव सेवा आश्रमका झापा जिल्ला संयोजक विश्वकर्माका अनुसार हाल मेचीनगरस्थित आश्रममा १०८ जना आश्रित छन्।


