
झापा, २७ साउन । विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी पार्टनर तथा मोडेल जर्जिना रोड्रिगेज वैवाहिक बन्धनमा बाँधिएका छन्।
रोनाल्डो र जर्जिनाले मंगलबार, अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा निजी नागरिक समारोहबीच विवाह गरेका हुन्। विवाहमा उनीहरूका पाँच सन्तान पनि सहभागी भएको जनाइएको छ।
विवाहपछि रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको औँठी देखाउँदै तस्बिर सार्वजनिक गरेका छन्। उनको पोस्टले छोटो समयमै लाखौँ लाइक प्राप्त गरेको छ।
रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्ची स्टोरमा भएको थियो, जहाँ जर्जिना बिक्री सहायकका रूपमा कार्यरत थिइन्। त्यतिबेला रोनाल्डो Real Madrid बाट व्यावसायिक फुटबल खेलिरहेका थिए।
करिब नौ वर्षको सम्बन्धपछि जर्जिनाले सन् २०२५ अगस्ट ११ मा इन्स्टाग्राममार्फत रोनाल्डोसँग इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन्। उनले त्यसबेला इन्गेजमेन्टको औँठीको तस्बिर सार्वजनिक गर्दै जीवनभर रोनाल्डोसँगै रहने प्रतिबद्धता जनाएकी थिइन्।
निजी समारोहमा भएको यो विवाहसँगै करिब एक दशक लामो रोनाल्डो–जर्जिनाको प्रेम सम्बन्ध औपचारिक वैवाहिक सम्बन्धमा परिणत भएको छ।


