
झापा, २७ साउन । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले साउन २६ गते लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।
झापाको भद्रपुर नगरपालिका–५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–३ का २४ वर्षीय अभिषेक तामाङलाई ३ ग्राम ३९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु एक थानसहित नियन्त्रणमा लिएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१४ का ३५ वर्षीय शंकर तामाङलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–८ गैसारमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले इटहरी–३ का २९ वर्षीय सरोज काफ्ले र भारत घर भई इटहरी–८ गैसारमा डेरा गरी बस्ने ३२ वर्षीय अवधेश सिंहलाई पक्राउ गरेको छ। उनीहरूको कोठा खानतलासी गर्दा १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, सोही टोली र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले इटहरी–२ की २९ वर्षीया भावना गुरुङलाई इटहरी–१७ बाट १० ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले को १२ प ७९६४ नम्बरको स्कुटरमा सवार इटहरी–१७ का १९ वर्षीय रामबाबु चौधरी र १८ वर्षीय आकेश कुमारलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी, इटहरी–१७ का २२ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय समीर कुमार र मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल इटहरी–६ मा डेरा गरी बस्ने ३१ वर्षीय सुरज कार्कीलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय छिन्ताङले धनकुटाको सहिदभूमि गाउँपालिका–२ कामीटोलबाट सोही स्थानका ३१ वर्षीय रविन्द्र राईलाई प्रतिबन्धित औषधि ट्रामाडोल १५० क्याप्सुल र स्पास्रेट १५० क्याप्सुलसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


