
झापा, २७ साउन । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण पछिल्लो चार महिनामा झापामा ५ जनासहित देशभरमा १३ जनाको मृत्यु भएको छ भने ८३० जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म २१ जिल्लामा जेई संक्रमण पुष्टि भएको हो । संक्रमणबाट झापामा पाँच तथा धनुषा, सुनसरी, मोरङ, इलाम, रौतहट, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको छ ।
महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पानी पर्ने समयमा जेई संक्रमण बढी देखिने भएकाले संक्रमितको संख्या अझ बढ्न सक्ने जोखिम छ। उनका अनुसार संक्रमितमध्ये अधिकांशले जेईविरुद्धको खोप लगाएका छैनन्।
जेईबाट एकदेखि ६० वर्ष उमेर समूहका व्यक्ति प्रभावित भएका छन्। प्रदेशगत रूपमा कोसी प्रदेशमा सबैभन्दा बढी २४२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशमा १५७, लुम्बिनीमा १०४, मधेशमा ९६, सुदूरपश्चिममा ८७ र कर्णालीमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातका संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। लामखुट्टेको टोकाइपछि भाइरसले मस्तिष्कमा संक्रमण गराउन सक्छ।
जेई फ्लाभिभाइरस समूहअन्तर्गत पर्ने रोग हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्।
सुँगुर र हाँसलाई जेई भाइरसको मुख्य स्रोत मानिन्छ। विशेषगरी सुँगुर पाल्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू संक्रमणको उच्च जोखिममा रहने स्वास्थ्य विज्ञहरू बताउँछन्।
विश्व स्वास्थ्य संगठनका अनुसार जेईका कारण गम्भीर बिरामी भएका व्यक्तिमध्ये करिब एकतिहाइको मृत्यु हुन सक्छ। बाँच्नेहरूमध्ये पनि करिब आधामा दीर्घकालीन तथा गम्भीर स्नायुसम्बन्धी अपांगता देखिन सक्ने जोखिम हुन्छ।
स्वास्थ्य अधिकारीहरूले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुका साथै सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।


