
झापा, २८ साउन । झापाको कनकाई नगरपालिका–३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको हो । पुर्जा प्राप्त गर्नेमा एक जना भूमिहीन दलित, पाँच जना भूमिहीन सुकुमवासी र सात जना अव्यवस्थित बसोबासी रहेका छन् ।
यसअघि साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।
भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९र८० देखि लगत सङ्कलन सुरु गरेयता कनकाई नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण भइसकेको छ ।
लगत सङ्कलनका क्रममा नगरपालिकामा ३७५ जना भूमिहीन दलित, २ हजार २४४ जना भूमिहीन सुकुमवासी र ४ हजार ५८८ जना अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिएको दाहालले जानकारी दिनुभयो ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बाँकी लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताउनुभयो ।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभर जग्गाधनी पुर्जा वितरणका लागि लगत सङ्कलन तथा वितरण प्रक्रियालाई तीव्रता दिइएको बताउनुभयो ।
समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय, भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि यसै महिनादेखि जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ । बुद्धशान्तिमा आगामी साता थप जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।


