
झापा, २९ साउन । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको शव नेपाल पठाइने भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वाका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको शव शनिबार नेपाल पठाउन लागिएको हो ।
रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावाससँगको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने व्यवस्था मिलाइएको हो । रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार दुवै जनाको शव अगस्ट १४ तारिख रोमानियाको हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सको उडानमार्फत इस्तानबुल हुँदै नेपाल ल्याइनेछ। उडान तालिकाअनुसार शव अगस्ट १६ तारिख बिहान काठमाडौं आइपुग्नेछ। यसबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको छ।
मृतक निश्चल तामाङका ठुलो बुवा डम्बरबहादुर तामाङले शव नेपाल पठाउन सहयोग गर्ने नेपाल सरकार, नेपाली दूतावास र रोमानियाका पूर्ववाणिज्यदूतलगायत सबैलाई धन्यवाद दिएका छन् । उनले घटना अकल्पनीय भए पनि सञ्चारमाध्यमबाट निरन्तर समाचार प्रकाशित भएपछि सरकारले छिटो चासो लिएर जिम्मेवारी पूरा गरेको महसुस भएको बताए ।
गत अगस्ट २ तारिख रोमानियाको बाकाउ सहरस्थित चिमिई रेल सडक खण्डमा रेलको लिक काट्ने क्रममा भएको दुर्घटनामा चार नेपाली परेका थिए । रेलको ठक्करबाट शान्तकुमार श्रेष्ठ र निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा कञ्चनपुरका अनिलकुमार दमाई र डडेलधुराका महेश नाथ घाइते भएका थिए ।
शान्तकुमार २८ अक्टोबर २०२४ मा र निश्चल २७ मे २०२३ मा रोजगारीका लागि रोमानिया पुगेका थिए । उनीहरू सेम डे सोलुसन कम्पनीमा कार्यरत भई टीआरके एजेन्सीमार्फत कुरिअर वायर हाउसमा काम गर्दै आएका थिए । शान्तकुमारका श्रीमती, १० वर्षीया छोरी र दुई वर्षका छोरा छन् । निश्चल भने अविवाहित थिए ।


