
तोमनाथ उप्रेती
ईष्या आत्मस्वीकारको अभाव र आत्मसंतोषको क्षय हो। जब मानिसले आफूलाई अरूसँग तुलनाको आधारमा मूल्याङ्कन गर्न थाल्दछ, तब आत्मसन्देह जन्मिन्छ, जसले ईष्यालाई मलजल पुर्याउँछ। त्यो तुलना कहिल्यै निष्पक्ष हुँदैन, किनभने प्रत्येक व्यक्तिको चेतना, योग्यता, अवस्था र उद्देश्य फरक छन्। तथापि, तुलनाको यो सञ्जालमा अल्झिनु नै ईष्या उत्पत्तिको पहिलो चरण हो।
ईर्ष्या, मानव मनोविज्ञानमा एक अदृश्य तर प्रचण्ड शक्ति हो, जसले मानिसको आत्मा, समाज र सम्बन्धहरूमाथि विषको वर्षा गर्दछ। यो भावना अरूको सफलता, सौभाग्य वा प्रतिभाप्रति उत्पन्न हुने मनोवैज्ञानिक अशान्ति हो, जसले आत्मसम्मानलाई कुण्ठित बनाउँछ। ईर्ष्याले मानिसलाई केवल अरूप्रति होइन, आफूप्रति पनि घृणायुक्त दृष्टिकोण बनाउने बनाउँछ, जहाँ तुलनाको फन्दामा परेर ऊ आफूलाई निरन्तर तुच्छ ठान्न थाल्छ।
सामाजिक दृष्टिले पनि ईर्ष्या एउटा घातक विष हो, जसले सम्बन्धहरूमा विषमता, अविश्वास र कलहको बीउ रोप्दछ। यसले मित्रतालाई खलल पार्दछ, पारिवारिक तानाबाना भत्काउँछ र मानिसलाई अन्ततः एक्लो बनाउँछ। यसमा लुकेको कटुता र मनोविषालु दृष्टिकोणले सहानुभूतिको ठाउँमा घृणा भरिदिन्छ। यस्तो प्रवृत्तिले मानसिक स्वास्थ्य मात्र होइन, शारीरिक स्वास्थ्यमा समेत दीर्घकालीन असर पुर्याउँछ—तनाव, उच्च रक्तचाप, अनिद्रा र अवसाद यसको सामान्य लक्षणहरू हुन्।
शास्त्रीय दृष्टिमा पनि, ईर्ष्या ‘षड्दश्यु’ अर्थात् छ डाँकुमध्ये एक हो, जसले दया, करुणा, मैत्री, शान्ति जस्ता सद्गुणहरू अपहरण गरेर मानिसलाई विकृत मनोवृत्तिको कैदी बनाउँछ। बाल्यकालदेखि बृद्धावस्था सम्म यो मनोविकारको रूप लिँदै जान्छ र मृत्यु नआउँदासम्म कहिल्यै बिसाउँदैन।मानिस सजीव भए पनि उसका भावना कहिलेकाहीं निर्जीवजस्तै कठोर हुन्छन् र त्यसको सबैभन्दा क्रूर उदाहरण हो ईर्ष्या। आत्मअस्वीकृति, असन्तुष्टि, द्वेष र असुरक्षाको यो समुच्चय जीवनका उज्याला पक्षहरूमा अँध्यारो स्याहार्छ। जब मानिस अरूको उन्नति देखेर आफूलाई हेपिएको ठान्छ, तब ऊ आफ्नो सामर्थ्य र लक्ष्यप्रति अनभिज्ञ हुन थाल्छ। यथार्थमा, ईर्ष्याले प्रतिस्पर्धा होइन, आत्मघात प्रेरित गर्छ जहाँ खुशी अरूको दुखमा सीमित हुन्छ र सन्तोष तिनको पतनमा।
ईर्ष्याबाट मुक्ति भनेको मनको उपचार मात्र होइन—त्यो त जीवनको पुनर्जागरण हो। आत्मस्वीकृति, सहिष्णुता, योग, ध्यान, सकारात्मक सोच र कृतज्ञताको अभ्यास यसका औषधि हुन्। जो अरूको सफलतामा आनन्द लिन्छ, ऊ आफैं एक दिन असल सफलताको स्वाद चाख्दछ। ईर्ष्यालाई अँगालेर होइन, त्यागेर मात्र मानिस साँचो मानसिक शान्ति, आत्मविकास र जीवनको पूर्णता तर्फ अग्रसर हुन सक्छ।
ईर्ष्या भावनात्मक तुषारो हो, जसले आत्माको उज्यालो झ्यालमा हिउँको पर्दा हाल्दछ। यस पर्दालाई च्यात्न सकिने साहस भनेको आत्मबोध, सहिष्णुता र आत्ममूल्याङ्कन हो जहाँ व्यक्ति अरूको सफलता देखेर पीडित होइन, प्रेरित हुन्छ। यही बाटो हो, जहाँबाट मानिस आत्मा र समाज दुबैसँग साँचो मेलमिलाप गर्न सक्छ।
ईष्या धेरैले देख्न नसक्ने, तर धेरैको अन्तरमनमा मौन दन्किरहने एक प्रज्वलित ज्वाला हो, जसले बाहिर भन्दा भित्र बढी जलाउँछ। यो अर्काको समृद्धि, सौन्दर्य वा सफलताप्रति उद्भूत भावनात्मक अशान्ति मात्र होइन यो आत्मविस्मृति, असुरक्षा र आत्माभावको मनोवैज्ञानिक संगालो हो। प्राचीन दर्शनमा वर्णित पाँच पीडामध्ये द्वेष अर्थात् ईष्या नै सबैभन्दा विकृत, तर गहिरो मनोवैज्ञानिक कारणबाट उत्पन्न हुने पीडा हो। ईष्या कुनै एकल रूपमा सीमित छैन यो व्यक्ति, समाज, व्यवसाय, सम्बन्ध र आत्मसम्मानजस्ता विभिन्न क्षेत्रहरूमा बहुरूपधारी भई प्रकट हुन्छ। कसैको प्रशंसा सुन्दा हृदय कस्सिनु, सम्बन्धमा असुरक्षा महसुस हुनु वा अरूको पद, सौन्दर्य वा सफलता देखेर खिन्न हुनु यी सबै ईष्याका सूक्ष्म तर सशक्त रूप हुन्।
सम्बन्धमा ईष्याको उपस्थितिले प्रेमलाई नियन्त्रणमा, विश्वासलाई सन्देहमा र स्वतन्त्रतालाई अधिकारको आडमा कैद गर्न थाल्छ। यो त्यस्तो आगो हो, जसले प्रेमको मुहानलाई बिनाअनुमति सुकाउँछ। त्यो पशुजन्य व्यवहारमा समेत स्पष्ट देखिन्छ। नयाँ सन्तानप्रति देखिने कुकुरको डाह वा प्रियजनप्रति देखिने स्वामित्वको भावना, ईष्याको जैविक स्रोतको संकेत हो।तर, यसलाई पराजित गर्न सकिन्छ। तरिका हो ज्ञान। जबसम्म हामी ईष्याको संरचना, उत्पत्ति र प्रवृत्तिलाई वैज्ञानिक, दार्शनिक र आध्यात्मिक दृष्टिबाट विश्लेषण गर्न सक्दैनौं, तबसम्म यो भावना हाम्रै जीवनको गोप्य निदेशक बनी रहन्छ। मनका तीन गुण (सत्त्व, रजस, तमस), चार कर्म (ध्यान, ज्ञान, सेवा, त्याग), पाँच विकार (काम, क्रोध, लोभ, मोह, मात्सर्य) र पाँच अवस्था (जाग्रत, स्वप्न, सुषुप्ति, तुरीय, तुरीयातीत) बुझ्नु, आत्मरूपी प्रकाशद्वारा अज्ञानको छायालाई उजागर गर्नु हो।
ईष्यालाई नियन्त्रण नगरेसम्म मानसिक शान्तिको प्रवेश असम्भवजस्तै हुन्छ। त्यसैले, आत्मस्वीकृति, प्रार्थना, योग, ध्यान, सकारात्मक दृष्टिकोण र धन्यवादभावको अभ्यासले मात्र यो गहिरो मनोविकारलाई रूपान्तरण गर्न सकिन्छ। भगवान श्रीकृष्णले गीता मा जस्तै भनेका छन्, काम, क्रोध, लोभ नै नाशको मूल हुन्, यी तीनैको मिलन बिन्दु हो ईष्या। यसले न त मित्रता टिकाउँछ, न सम्बन्ध बलियो बनाउँछ, न आत्मबल बढाउँछ।
कहिले काँही केही यस्ता सत्यहरू हुन्छन्, जुन सुन्दा त अचम्म लाग्छ, तर बुझ्दा तिनको गहिराइ मनको आरम्भदेखि अन्तसम्म बगिरहेको हुन्छ। ईर्ष्या त्यहीँ एक रहस्यमय तर अत्यन्त प्रबल मनोभाव हो—जो न त पूर्णतः तिरस्कृत गर्न सकिन्छ, न पूर्णरूपेण अंगीकार। ईर्ष्या भनेको केवल अरूको सफलता, सम्बन्ध वा समृद्धिको प्रतिक्रिया होइन; यो आत्मगौरव र आत्मविश्वासको अवशेष, असुरक्षाको झिल्को र स्वीकारोक्तिको अभावको प्रतिविम्ब हो।
ईर्ष्यालाई आम रूपमा नकारात्मक दोषको रूपमा चित्रण गरिन्छ, तर यसको उत्पत्ति र विकासको विश्लेषण गर्दा थाहा हुन्छ ईर्ष्या केवल नष्ट गर्नु पर्ने विकार होइन, रूपान्तरण गर्न सकिने ऊर्जा पनि हो। कसैको जीवनको समृद्ध पक्ष देखेर मनमा उठ्ने ईर्ष्या यदि व्यक्तिमा आफूलाई सुधार्ने प्रेरणा बन्न सक्यो भने, त्यो आत्मगौरवको थालनी हो। तर, यदि त्यही भावना डाह, द्वेष, आक्रोश वा अविश्वासमा परिणत भयो भने त्यो आत्मविनाशको मार्ग हो।
ईर्ष्याले सम्बन्धमा पनि जटिलता ल्याउँछ। जब मानिस प्रेम वा मित्रताको सम्बन्धमा हुन्छ र तेस्रो व्यक्ति प्रवेश गर्छ, तब ईर्ष्याले हाम्रो भावनात्मक दुनियाँलाई हल्लाइदिन्छ। यो केवल मानिसमा होइन, जनावरमा पनि देखिन्छ—कुकुरले घरमा नयाँ सन्तान आउँदा देखाउने असहज व्यवहार यसको प्रमाण हो। यस्ता क्षणहरूमा ईर्ष्या केवल भावना होइन, आत्मरक्षाको स्वाभाविक प्रतिक्रिया हो तर त्यसलाई दमन होइन, समझदारीको रूपान्तरण आवश्यक हुन्छ।
साँचो समाधान भनेको ईष्याबाट उम्कनु होइन, ईष्यालाई बुझेर रूपान्तरण गर्नु हो। जब ईष्या सद्गुणमा रूपान्तरित हुन्छ, तब त्यो प्रेरणा बन्छ; जब नबुझी दबाइन्छ, तब त्यो विष बन्छ। यसैले, हामी ईष्याबाट भाग्ने होइन, त्यसलाई बुझ्ने, रूप दिने र आत्मविकासको इन्धन बनाउने बाटो रोज्नुपर्छ। यही बाटोले मात्र मानसिक शान्ति, आत्मगौरव र साँचो मानवता सम्भव बनाउँछ।मानसिक शान्ति भनेको मौनता मात्रै होइन, अन्तर्दृष्टिको समन्वय हो। जब व्यक्ति ईर्ष्याको प्रकृतिलाई आत्मचिन्तनद्वारा बुझ्न थाल्दछ, आत्म-स्वीकृतिको प्रकाशले त्यस मनोभावनालाई उज्यालो बनाउँछ। ध्यान, योग, सकारात्मक दृष्टिकोण र गहन संवाद यी सबै साधन ईर्ष्यालाई व्यवस्थापन गर्ने औषधि हुन्। ईर्ष्या नगर्नु भन्दा, ईर्ष्यालाई बुझेर उचित मार्गमा मोड्नु धेरै बुद्धिमत्तापूर्ण विकल्प हो।


