
झापा, ३० साउन । झापाको गौरादहलाई कार्यक्षेत्र बनाएर कला तथा संस्कृतिको संरक्षणसँगै जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएको दर्पण कला संसारले २०८३ सालको तीजलाई लक्षित गरी निर्माण गरेको तीज गीतको छायाङ्कन सम्पन्न गरेको छ।
स्थानीय सांस्कृतिक तथा पौराणिक महत्व बोकेका विषयवस्तुका साथै लागूऔषधविरुद्धको जनचेतनामूलक सन्देश कलामार्फत प्रस्तुत गर्दै आएको संस्थाले यसपटक स्थानीय महिला कलाकारलाई प्राथमिकता दिएर तीज गीत निर्माण गरेको हो।
गौरादह नगरपालिका–१ स्थित मोक्षेश्वर शिवालय मन्दिरको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी गीतको शुभमुहूर्त गरिएको थियो। कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं। १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने गौरादह उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वर खत्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा गोपेकृष्ण गङ्गाघाटका अध्यक्ष टंक कार्की, मोक्षेश्वर शिवालय मन्दिरका अध्यक्ष मेखबहादुर बिष्टलगायत सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो। संस्थाका सल्लाहकार समिति सहसंयोजक टेकबहादुर कार्की र अध्यक्ष प्रेमलावतीलगायतको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिएको थियो।
दर्पण कला संसारको ब्यानरमा निर्माण भएको गीतको रचना तथा निर्देशन हरि बस्नेत ‘डिके’ले गर्नुभएको हो। गीतमा स्थानीय स्तरमै पहिलोपटक गायिकाका रूपमा डेब्यु गर्नुभएकी दीपा अधिकारीको स्वर रहेको छ। वरिष्ठ संगीतकार अशोक थापाको संगीत रहेको गीतका निर्माता भुवन खड्का हुनुहुन्छ।
गीतको सुटिङ व्यवस्थापन युवराज खड्काले सम्हाल्नुभएको थियो भने छायाङ्कन जीवन थापा मगरले गर्नुभएको हो। सहायक छायाङ्कन उज्ज्वल भण्डारीले गर्नुभएको छ। गीतको सम्पादन क्रिएटिभ स्टुडियोका मुहारसिंह थापा मगरले गर्ने निर्माण पक्षले जनाएको छ। शृङ्गारतर्फ पूर्वका वरिष्ठ मेकअप आर्टिस्ट सुमन मगरातीको योगदान रहेको छ। सुटिङका क्रममा कलाकार व्यवस्थापनको जिम्मेवारी नारायणचन्द्र राजवंशीले सम्हाल्नुभएको थियो।
भिडियोमा स्थानीय महिला कलाकारहरू गङ्गा भट्टराई खड्का, इसु अधिकारी, रिंकु मण्डल, रश्मिता थापा, पूजा गौतम, कुमारी बस्नेत, मञ्जु पाठक, निर्मला रिमाल, दीपा अधिकारी र लक्ष्मी चिमरियालगायतको अभिनय रहेको छ।
निर्माण टोलीका अनुसार तीज गीतको भिडियो भदौको पहिलो सातामा युट्युबमार्फत सार्वजनिक गरिनेछ।
निर्देशक हरि बस्नेत ‘डिके’ले स्थानीय दिदीबहिनीलाई नै कलाकारका रूपमा समेटेर निर्माण गरिएको भिडियोले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रमुख अतिथि नगेन्द्र भण्डारीले स्थानीय कलाकार तथा संस्थालाई आगामी दिनमा पनि आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सल्लाहकार समिति सहसंयोजक टेकबहादुर कार्कीले चुनौतीका बीच पनि संस्थाले असल कार्य र सही मार्गनिर्देशनलाई निरन्तरता दिने बताउनुभएको छ। संस्थाकी अध्यक्ष प्रेमलावतीले स्थानीय कलाकारको संरक्षण, प्रवर्द्धन तथा प्रतिभा विकासका लागि दर्पण कला संसारले आगामी दिनमा पनि निरन्तर काम गर्ने बताउनुभएको छ।


