
झापा, ३१ साउन। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। हालसम्म मेचीनगरका चार, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ।
कुल सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भएका छन्। सङ्क्रमितमध्ये एक जना सात महिनाका बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घरवरिपरि पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन तथा आवश्यक सावधानी अपनाउन श्रेष्ठले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। जेई विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले वर्षायाममा यसको जोखिम बढ्ने गर्दछ।


