
गोपाल पोख्रेल
शिवसताक्षी, ३१ साउन । मेची अंग्रेजी बोर्डिङ स्कुल, शिवसताक्षी–१० को आयोजनामा लागुऔषध दुर्व्यसन तथा घरेलु हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा लागुऔषध दुर्व्यसन तथा घरेलु हिंसा न्यूनीकरणका उपाय, परिवार तथा समाजको भूमिका र युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा जोड्ने विषयमा छलफल गरिएको थियो।
खेलकुद क्षेत्रका प्रतिनिधिले लागुऔषध दुर्व्यसन तथा घरेलु हिंसाविरुद्धको अभियानमा खेलकुदले खेल्न सक्ने भूमिकाबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए। युवालाई खेलकुदलगायत सिर्जनात्मक, रचनात्मक तथा अनुशासित गतिविधिमा सहभागी गराउन सके उनीहरूलाई दुर्व्यसनबाट टाढा राख्न महत्वपूर्ण योगदान पुग्ने वक्ताहरूको भनाइ थियो।
कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रधानाध्यापक पदम कुँवरले प्रकाश पार्नुभएको थियो। कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत सुनीता तुम्बाहाम्फे, दमक इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि बस्नेत, जिल्ला सहायक न्यायाधिवक्ता निशा खनाल तथा अधिवक्ता रुद्रमणि भट्टराईलगायतको उपस्थिति थियो।
सुधार केन्द्र बिर्तामोडका सञ्चालक तथा दुर्व्यसनविरुद्धका अभियन्ता जीवन भण्डारीले आफ्ना जीवनका विभिन्न घटना र अनुभव सुनाउँदै लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जानकारी गराउनुभयो।
औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका पूर्वविद्यार्थी तथा कानुनका विद्यार्थी पुकार कार्कीले गर्नुभएको थियो भने विद्यालयका सहायक प्रधानाध्यापक सूर्यप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। प्यानल छलफलको सहजीकरण सूर्योदय टेलिभिजनका प्रमुख टीकाराम नेतीले गर्नुभएको थियो।
विद्यालयका अध्यक्ष बालकृष्ण चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लागुऔषध दुर्व्यसन तथा घरेलु हिंसाका कारण, त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने असर तथा न्यूनीकरणका उपायबारे विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा लागुऔषध नियन्त्रण तथा घरेलु हिंसा न्यूनीकरण कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुनेमा सहभागीहरूले जोड दिएका थिए। परिवारबाटै सकारात्मक संस्कार, उचित निगरानी र माया–ममता प्रदान गर्नुपर्ने, विद्यालयले आवश्यक शिक्षा तथा परामर्श दिनुपर्ने, प्रहरीले प्रभावकारी रूपमा कानुन कार्यान्वयन गर्नुपर्ने, स्थानीय सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने र समाजले पीडित तथा जोखिममा रहेका व्यक्तिलाई सहयोगी वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्न खेलकुदलाई प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो। नियमित खेलकुद तथा अन्य रचनात्मक गतिविधिमा युवाको सहभागिता बढाउन सके उनीहरूमा अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।
कार्यक्रमले लागुऔषध दुर्व्यसन तथा घरेलु हिंसाविरुद्ध परिवार, विद्यालय, प्रहरी, कानुनी क्षेत्र, स्थानीय सरकार, समाज तथा खेलकुद क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको सन्देश दिएको छ। स्वस्थ युवा, अनुशासित समाज तथा हिंसामुक्त समुदाय निर्माणका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।


