
ताप्लेजुङ, ३ भदौ । ताप्लेजुङमा खाना पकाउने प्रेसर कुकर पड्किएर एक वृद्धा घाइते हुनुभएको छ । यहाँको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको सेसम्बुकी ७९ वर्षीया मनमाया सुनुवार घाइते हुनुभएको हो ।
नाङ्खोल्याङका वडाध्यक्ष दिलकुमार सुनुवारका अनुसार बुधबार बिहान घरमा खाना तयार गर्ने क्रममा प्रेसर कुकर पड्किएर वृद्धा घाइते हुनुभएको हो । घाइते वृद्धा वडाध्यक्ष सुनुवारका आफ्नै आमा हुनुहुन्छ ।
दाल पकाएको कुकरको सिट्ठी बन्द भएको र सिट्ठी मिलाउन खोज्दा एक्कासी कुकर पड्किएर आमा घाइते हुनुभएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्धा आमाको दायाँ आँखाको डिल र दायाँ हातमा चोट लागेको छ ।
घाइते आमालाई जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएर उपचार सुरु गरिएको छ । यता आँखाको डिलमा केही गहिरो चोट लागेको भए पनि अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।


