
झापा, ५ भदौ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले बिहीबार खानतलासी गरी ६ वटा मोबाइल, एक थान ल्यापटप र सीसीटीभीको डिभीआर बक्स नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापाको नेतृत्वमा गएको टोलीले प्रसाईंले प्रयोग गर्दै आएको मोबाइलसहित अन्य सामग्री बरामद गरेको हो।
प्रहरीको निष्कर्षअनुसार प्रसाईंले लघुवित्त प्रभावितहरूको नेतृत्व गर्दै आन्दोलनमा उतारेका थिए। हाल लघुवित्त पीडितहरूले मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना दिइरहेका छन्।
साउन ३१ गतेदेखि नै प्रहरी निगरानीमा रहेका प्रसाईंको घरमा २४ घण्टा प्रहरीको निगरानी जारी रहेको छ। बरामद सामग्रीहरूलाई अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ।


