
बुद्धशान्ति, ५ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका–१ नम्बर वडा कार्यालयले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले तीनवटा क्लबमार्फत फुटबल प्रशिक्षण सञ्चालन गर्न बजेट विनियोजन गरेको छ।
वडाले भोटेटार, होक्से र बुधबारे क्षेत्रमा सक्रिय तीनवटा क्लबलाई प्रशिक्षण सञ्चालनका लागि बजेट उपलब्ध गराएको हो। न्यू स्टार यूथ क्लब भोटेटारलाई भोटेटार खेलमैदान, होक्से युवा क्लबलाई त्रिभुवन माध्यमिक विद्यालयको खेलमैदान र आदर्श क्लब बुधबारेको बुद्धआदर्श माध्यमिक विद्यालयको खेलमैदानमा प्रशिक्षण सञ्चालन गर्ने गरी बजेट छुट्याइएको छ।
वडाध्यक्ष अनिल वाग्लेका अनुसार चालु आर्थिक वर्षमा तीनवटै क्लबलाई ५०र५० हजार रुपैयाँका दरले कुल १ लाख ५० हजार रुपैयाँ फुटबल प्रशिक्षणका लागि विनियोजन गरिएको छ। यसबाहेक खेलकुदका लागि थप १ लाख रुपैयाँ बजेट छुट्याइएको छ। गत आर्थिक वर्षमा पनि होक्से युवा क्लबलाई फुटबल प्रशिक्षणका लागि बजेट उपलब्ध गराइएको थियो।
वडाध्यक्ष वाग्लेले युवालाई खेलकुदमा जोड्दै अघि बढिरहेका क्लबमार्फत प्रशिक्षण सञ्चालन गर्ने योजनाको सुरुवात गरिएको बताउनुभयो। यसलाई निरन्तरता दिन सके व्यावसायिक खेलाडी उत्पादन गर्न सकिने उहाँको विश्वास छ।
“अहिले युवा पुस्तामा मोबाइलको बढ्दो प्रयोग र गलत आदतका कारण विभिन्न समस्या देखिन थालेका छन्। असल, सक्षम र प्रतिस्पर्धी युवा उत्पादन गर्ने उद्देश्यले यो योजनाका लागि बजेट विनियोजन गरेका हौँ,” वाग्लेले भन्नुभयो।
यसैगरी, बुद्धशान्ति–१ ले आगामी असोजमा पत्रकारका संस्थाबीच प्रतिस्पर्धा हुने गरी ‘बुद्धशान्ति मिडिया कप फुटबल’ आयोजना गर्ने भएको छ। मिडिया कप सञ्चालनका लागि समेत वडाले बजेट विनियोजन गरेको जनाएको छ।
पत्रकारिता क्षेत्रमा आबद्ध संस्थाबीच मैत्रीपूर्ण प्रतिस्पर्धासँगै खेलकुदमार्फत आपसी सम्बन्ध र सहकार्य बढाउने उद्देश्यले मिडिया कप आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ।


