
दमक, ७ भदौ । जेन्जी आन्दोलनका क्रममा लुटपाट भएको एक थान सटगनसहित प्रहरीले झापाको दमकबाट शनिबार एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२ रतुवा पुलस्थित अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्णलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्णले गत २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुटिएको हतियार (सटगन) दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखेको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो ।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले कर्णलाई नियन्त्रणमा लिई उनले बताएको स्थानमा लगेर खोजतलास गरेको थियो । खोजतलासका क्रममा प्रहरीले प्रहरीको मिक कम्बलमा पोका पारी लुकाएर राखेको अवस्थामा सटगन फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बरामद सटगनको ब्यारेल भाँचिएको ९बेसाबुत० अवस्थामा रहेको थियो। प्रहरीले सटगन बरामद गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ परेका कर्ण र बरामद हतियारसम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।


