
काठमाडौँ, ८ भदौ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटो भन्दा छिटो कारबाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ ।
बैठकको विशेष समयमा सांसदहरुले यस्ता घटनाको ठिक ढंगले कारबाही भएन भने यस्तो प्रवृत्ति थप मौलाएर जाने भन्दै जघन्य प्रकारका घटना किन घट्छन् भन्नेबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
सांसदहरुले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
यस्तै सांसदहरुले नेपालको कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा एक चौथाइ योगदान दिएको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनुपर्नेमा सरकारले बजेट कटौती गर्दा बसाई सराई थप बढ्दै गएको बताउनुभयो ।
सांसदहरुले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसदहरुले देशको प्रधानमन्त्रीले भ्रमणमा रहँदा सुरक्षा प्रोटोकललाई ध्यान दिनुपर्ने, उपलब्ध स्रोत साधनको सही सदुपयोग गर्नुपर्ने र भ्रमणबारे सदनमा जवाफ दिनुपर्ने माग समेत गर्नुभयो ।
सांसदहरुले यतिबेला बाढी पहिरोजस्ता विपद्का कारण मुलुक आक्रान्त भएको र सयौँ विघा खेतीयोग्य जमिन काटिएर नाश भएकाले त्यसको व्यवस्थापनप्रति सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड दिँदै जनताका माग शीघ्र संशोधनका लागि सरकारसँग आग्रह गर्नुभयो ।


