
सन्तोष शर्मा
कनकाई, ९ भदौ । झापाको कनकाई नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय मुद्दाको चाप निक्कै घट्दै गएको छ । कुनै समय सयौं उजुरी पर्ने गरेको समितिमा हाल महिनामा मुस्किलले एउटा मात्र उजुरी पर्ने गरेको छ ।
गत आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाको न्यायिक समितिमा १२ वटा मुद्दा दर्ता भएका थिए । जुन अघिल्लो वर्ष २०८१÷०८२ को तुलनामा ३० प्रतिशतले कम हो । आव २०८१÷०८२ मा १७ वटा मुद्दा दर्ता भएका थिए ।
दर्ता भएका १२ मुद्दामध्ये ९ वटा मुद्दा फस्र्योट भइसकेका छन् भने तीनवटा मुद्दा फस्र्योट हुन बाँकी रहेको नगरपालिकाका कानून शाखाका कानून अधिकृत भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
न्यायिक समितिमा सबैभन्दा बढी लेनदेनसम्बन्धी विवादका मुद्दा पर्ने गरेका छन् । १२ उजुरीमध्ये ५ वटा लेनदेनसम्बन्धी छन् । तीमध्ये ४ वटा फस्र्योट भइसकेको छ भने १ वटा फस्र्योट हुन बाँकी छ ।
त्यस्तै, घर झगडासम्बन्धी २, जग्गा विवादसम्बन्धी २, बाली नोक्सानीसम्बन्धी, घर खाली गराउने र बलेसीमा पानी झारेको सम्बन्धी १÷१ वटा मुद्दा उजुरी दर्ता भएका थिए । यीमध्ये जग्गा विवाद, घर खाली गराउने र लेनदेन सम्बन्धी १÷१ वटा मुद्दा गरी ३ वटा मुद्दा फस्र्योट हुन बाँकी छन् ।
आर्थिक वर्ष २०८१÷८२ मा अघिल्लो आर्थिक वर्षबाट सरी आएका ५ वटा नयाँ १७ वटा गरी कूल २२ वटा उजुरी दर्ता भएका थिए । ती सबै मुद्दा फस्र्योट गरिएको थियो ।
पछिल्ला दुई आर्थिक वर्षको तथ्याङ्कले कनकाई नगरपालिकाको न्यायिक समितिमा उजुरीको संख्या उल्लेख्य रूपमा घटेको देखाएको छ । स्थानीय तहमा विवाद समाधानका अन्य माध्यमको प्रयोग बढ्नु तथा नागरिकमा कानूनी सचेतना वृद्धि हुनु पनि उजुरी घट्नुका कारण हुन सक्ने बताइएको छ ।


