
झापा, ९ भदौ । कोशी प्रदेश सरकारले प्रदेशका १ हजार २२७ जना पत्रकारको एक वर्षको दुर्घटना बीमा खर्च बेहोर्ने भएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको पहलमा प्रदेश सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत पत्रकारको दुर्घटना बीमा कार्यक्रम सुरु गरिएको हो।
विराटनगरमा आयोजित कार्यक्रममा बीमा कार्यक्रमको शुभारम्भ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता सत्य र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए।
पत्रकारिता जोखिमपूर्ण पेसा भएकाले पत्रकारको सुरक्षा र सामाजिक संरक्षणमा बीमाको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री कार्कीले बताए। दुर्घटनामा परेका बीमितलाई भुक्तानी गर्ने प्रक्रिया सहज, सरल र प्रभावकारी बनाउन उनले बीमा कम्पनीलाई आग्रह गरे।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहस र जोखिमसँग जोडिएको पेसा भएकाले दुर्घटना बीमा कार्यक्रमले पत्रकारलाई राहत पुग्ने बताए। प्रदेश सरकारले १४ वटै जिल्लाका पत्रकारको एक वर्षको दुर्घटना बीमाका लागि लाग्ने खर्च बेहोरेको जानकारी दिँदै उनले आवश्यकता र प्रभावका आधारमा कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशमा आबद्ध पत्रकारको एक वर्षको दुर्घटना बीमा गरेको हो। यसबाट पेसागत जिम्मेवारी निर्वाहका क्रममा हुने दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हेमा चेम्जोङ, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठक, कोशी प्रदेश सञ्चार प्रतिष्ठानका रजिष्ट्रार लीलाराज भट्टराई, राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक निरञ्जन आचार्य र कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारको सुरक्षा तथा बीमा कार्यक्रमका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा राष्ट्रिय बीमा कम्पनी लिमिटेड कोशी प्रदेशका मुख्य व्यवस्थापक निरञ्जन आचार्यले बीमाको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।


