
भद्रपुर, १० भदौ । भद्रपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहयोगी सामग्री उपलब्ध गराउन आवेदन माग गरेको छ।
नगरपालिकाले प्रदेश सरकार, करुणा फाउन्डेसन नेपाल र भद्रपुर नगरपालिकाको लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सहयोगी सामग्री उपलब्ध गराउन लागेको हो।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८३–०८४ को कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान गरी आवश्यक सहयोगी सामग्री खरिद गरिनेछ। इच्छुकले आगामी भदौ ११ गतेभित्र भद्रपुर नगरपालिकाको सामाजिक विकास शाखामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।
आवेदनका लागि तोकिएको ढाँचामा निवेदन र भद्रपुर नगरपालिकाले जारी गरेको अपाङ्गता परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रमका लागि भद्रपुरका वडा नं. १ देखि १० सम्मका वडा कार्यालय तथा सम्बन्धित अपाङ्गता क्षेत्रका संस्थामार्फत समेत सूचना प्रवाह गरिएको छ ।



