
शिवसताक्षी, ११ भदौ । रसुवा हुँदै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहतका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् ।
बाढीबाट घरबार, सम्पत्ति तथा दैनिक जीवनका आधारभूत आवश्यकता गुमाएका परिवारको पीडामा साथ दिने उद्देश्यले नगरपालिकाका कर्मचारीको बैठकले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार अधिकृत तहका कर्मचारीले जनही ५ हजार रुपैयाँ, सहायक चौथो र पाँचौँ तहका कर्मचारीले जनही ४ हजार रुपैयाँ तथा कार्यालय सहयोगी र सवारी चालकले जनही ३ हजार रुपैयाँ सहयोग गर्ने शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्मचारीबाट संकलन हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढीपीडितको राहत तथा उद्धार कार्यमा प्रयोग गरिनेछ ।
हाल शिवसताक्षी नगरपालिकामा १८२ जना कर्मचारी कार्यरत छन् । कर्मचारीको योगदानबाट करिब ८ लाख रुपैयाँ राहत रकम जुटाउने लक्ष्य रहेको लेखा अधिकृत योङहाङले बताउनुभयो ।
बाढीका कारण कतिपय परिवारको घर बगेको छ भने कतिपयले रोजगारी, आम्दानीको स्रोत र जीवनभरको कमाइसमेत गुमाएका छन् । आफन्त गुमाएका परिवार शोकमा छन् भने विस्थापित परिवार सुरक्षित बास, खाना, लत्ताकपडा तथा अन्य आधारभूत आवश्यकताको अभाव झेलिरहेका छन् ।
यस्तो पीडाको समयमा राज्यसँगै समाजका हरेक तह र तप्काबाट सहयोगको हात अगाडि बढाउनुपर्ने कर्मचारीहरूले बताएका छन् । बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेको छ ।
‘विपद्को पीडामा हामी सबैको साझा जिम्मेवारी हो’ भन्ने भावनासहित शिवसताक्षीका कर्मचारीले अघि सारेको यो पहलले बाढीपीडितप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको सन्देश दिएको छ ।
विपद्ले भत्काएका घर तत्काल उठाउन नसकिएला र गुमेको सम्पत्ति तत्काल फर्काउन नसकिएला, तर संकटमा परेका परिवारको हात समातेर ‘तपाईंहरू एक्लै हुनुहुन्न’ भन्ने भरोसा दिन सकिन्छ । शिवसताक्षीका कर्मचारीको यो पहलले त्यही मानवीय सहारा र सहानुभूतिको सन्देश दिएको छ ।


