
झापा, १२ भदौ । सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ४ सय ७७ जनाको मृत्यु भएको जनाएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बाढीबाट रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा १ सय १०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १ सय ८८ जनाको मृत्यु भएको जानकारी दिनुभयो।
उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, बाढी प्रभावित क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको भन्दै सरकारले थप बाढी आउन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरेको छ। भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति तथा जोखिमयुक्त क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन मन्त्री पोखरेलले आग्रह गर्नुभयो।
मन्त्री पोखरेलका अनुसार चीन सरकारसँग भएको संवादका क्रममा सामान्य हिमताल तथा हिमनदी फुटेर बाढी र पहिरोसहित पानीको बहाव बढेको जानकारी प्राप्त भएको छ। तत्काल ठूलो जोखिम नदेखिए पनि जोखिमको अवस्था उत्पन्न भए तत्काल सुरक्षित स्थानमा जान उहाँले आग्रह गर्नुभयो।
मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत र पुनःस्थापनासम्बन्धी प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।


