
झापा, १३ भदौ । झापाको बिर्तामोडमा स्थापित सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस) सदस्यको आर्थिक उन्नतिसँगै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय बन्दै गएको छ । झापा, इलाम र मोरङलाई कार्यक्षेत्र बनाएर सञ्चालन भइरहेको संस्थाले आर्थिक चुनौतीका बीच पनि सदस्यको विश्वास कायम राख्दै विभिन्न उद्यमशीलता तथा कल्याणकारी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
निम्न तथा मध्यम आय भएका नागरिकको आर्थिक अवस्था सुधार गनेर् उद्देश्यले स्थापित सिम्रिकले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यलाई उद्यमशीलतासँग जोड्ने अभियानलाई प्राथमिकता दिएको छ । संस्थाको वार्षिक प्रगति विवरणअनुसार सदस्यलाई कृषि, पशुपालन, लघु उद्यम, घरेलु उत्पादन तथा व्यापार–व्यवसाय प्रवद्र्धनसँग जोड्ने काम भइरहेको छ ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार सदस्यको क्षमता, आवश्यकता र रुचिअनुसार उद्यम विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उद्यम सञ्चालनका लागि आवश्यक लगानी, सीपमूलक तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराएर सदस्यलाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
“सदस्यलाई बचतकर्तामा मात्र सीमित नराखी सफल उद्यमीका रूपमा स्थापित गनेर् हाम्रो लक्ष्य हो,” बस्नेतले भन्नुभयो, “आगामी दिनमा पनि सदस्यको आयआर्जन र रोजगारी सिर्जनामा सहयोग पुग्ने थप कार्यक्रम सञ्चालन गरिनेछ ।”
उद्यमशीलतामार्फत सदस्यको आम्दानी बढ्नुका साथै परिवारको जीवनस्तर सुधारमा समेत सकारात्मक प्रभाव परेको संस्थाको दाबी छ । सदस्यको आर्थिकस्तर उकास्दै रोजगारीका अवसर सिर्जना गनेर् उद्देश्यले विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको संस्थाले जनाएको छ ।
सामाजिक उत्तरदायित्वमा सक्रिय
सिम्रिक साकोसले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपन्न परिवारलाई सहयोग, रक्तदान, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रममार्फत संस्थाले समुदायसँगको सम्बन्ध विस्तार गरिरहेको जनाएको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराईका अनुसार सहकारी केवल आर्थिक कारोबार गनेर् संस्था नभई सामाजिक परिवर्तनको माध्यम पनि हो । समुदायको आवश्यकता पहिचान गरी सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
“सहकारी र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ”, भट्टराईले भन्नुभयो ।
संस्थाको प्रगति विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा सामाजिक उत्तरदायित्वअन्तर्गत ८ लाख ९८ हजार २४ रुपैयाँ खर्च गरिएको छ । यसअन्तर्गत सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण, विभिन्न संस्थालाई भौतिक सामग्री सहयोग, सुरक्षा निकायलाई आवश्यक सामग्री तथा आश्रमलाई खाद्यान्न र अन्य सामग्री उपलब्ध गराइएको छ ।
सदस्यको दुःखमा साथ
सिम्रिकले आफ्ना सदस्यको निधनपछि परिवारमा पनेर् आर्थिक भार कम गर्न ऋण मिनाहाको व्यवस्थासमेत गदैर् आएको छ । संस्थाका अनुसार सदस्यको मृत्यु भएपछि नीति तथा नियमअनुसार आवश्यक प्रक्रिया पूरा गरी बाँकी कर्जा मिनाहा गनेर् गरिएको छ ।
त्यस्तै, सदस्यको घातक तथा साधारण रोगको उपचार, शल्यक्रिया, मृत्यु राहत, कर्जा मिनाहा, प्राकृतिक विपत्तिमा सहयोग, मानो–चामल तथा समवेदना, आर्थिक सहयोग लगायतका कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
कोषाध्यक्ष मेहरमान विष्टका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा हालसम्म यस्ता सदस्य कल्याणकारी कार्यक्रमअन्तर्गत २ करोड ४ लाख ६३ हजार ६७६ रुपैयाँ खर्च गरिएको छ । यसमा उपचार तथा शल्यक्रिया सहयोग, मृत्यु राहत, कर्जा मिनाहा, प्राकृतिक विपत्तिमा सहयोग, मानो–चामल तथा समवेदना, आर्थिक सहयोगलगायतका कार्यक्रम समेटिएका छन् ।
सदस्य भ्रमण तथा विभिन्न सामाजिक र संस्थागत गतिविधिमा समेत खर्च गरिएको संस्थाले जनाएको छ । अध्यक्ष भट्टराईले सदस्यको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका कल्याणकारी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
सदस्यको सुख–दुःखमा साथ दिने संस्थाको प्रयासले सहकारीप्रति सदस्य तथा स्थानीय समुदायको विश्वास थप मजबुत भएको संस्थाले जनाएको छ ।


