
काठमाडौँ, १३ भदौ । नेपालको आग्रहमा चीनले उद्धार टोली पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार टनेल (सुरुङ) मा फसेका नेपालीलाई उद्धार गर्न चिनियाँ एक्सपर्ट टिम नेपाल आउन लागेको हो ।
सम्भवतः उनीहरू आजै नेपाल आइपुग्ने र भोलिदेखि काममा लाग्ने बताइएको छ । बाहिर जोखिममा रहेकाहरूलाई उद्धार गर्ने काम भइरहेको छ । तर विभिन्न टनेलहरूमा फसेकाहरूलाई नेपालको जनशक्तिले मात्र नभ्याउने भएपछि नेपालले भारत तथा चीनबाट दक्ष जनशक्ति माग गरेको थियो ।
भारतले आवश्यक ११ जनाको टोली हिजै पठाइसकेको छ । उनीहरू उद्धार कार्यमा लागिसकेका छन् । चीनबाट पनि दुई वटा टोली नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–तिब्बत सीमा क्षेत्रको हिम पहिरोका कारण आएको बाढीमा ज्यान जानेको सङ्ख्या ६१६ पुगेको छ भने तीन हजारभन्दा बढी सम्पर्क विहीनको अवस्थामा रहेका छन् ।


