
इलाम, १५ भदौ । लामो समयदेखि निर्माण तथा पुनर्स्थापनाको काम भइरहेको मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड साना सवारी साधनका लागि खुला गरिएको छ।
सडक डिभिजन कार्यालय इलामका अनुसार भदौ १५ गते बिहानदेखि उक्त खण्डमा साना सवारी साधनलाई आवतजावत गर्न दिइएको हो। सडक अवरुद्ध हुँदा लामो समयदेखि यात्रु तथा स्थानीयवासीले आवतजावतमा सास्ती व्यहोर्दै आएका थिए।
यद्यपि, राजदुवाली खण्डको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। नाली निर्माण, टेवा पर्खाल निर्माण तथा डिवाटरिङ वेल ९म्भधबतभचष्लन ध्भिि० निर्माणलगायतका काम बाँकी रहेकाले हाललाई ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार बाँकी निर्माण कार्य सम्पन्न भएपछि मात्रै ठूला तथा मालबाहक सवारी साधनसमेत सञ्चालनमा ल्याइनेछ। त्यसअवधिसम्म ठूला तथा मालबाहक सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
राजदुवाली खण्ड साना सवारीका लागि खुलेसँगै इलामतर्फको यातायात आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।


