
सन्तोष शर्मा
झापा, १५ भदौ । विगत केही महिनादेखि झापासहित देशभर खाना पकाउने ग्यासको अभाव छ । पछिल्लो समय ग्यास अभाव केही न्यून भए पनि सहज भनेको भएको छ । अहिले पनि सर्वसाधारण ग्यासका लागि घण्टौं लाइनमा बस्न बाध्य छन् । घण्टौं लाइनमा बस्दा पनि केहीले रित्तो सिलिण्डर लिएर फर्किनुपर्ने अवस्था छ ।
पूर्वी नाकाका काँकरभिट्टाबाट गत २०८३ साउनमा मात्रै ४ लाख २० किलोग्राम ग्यास आयात भएको छ । अघिल्लो वर्ष अर्थात् २०८२ साउनमा २ लाख ३०६ किलोग्राम ग्यास आयात भएको थियो । आयातको तथ्यांकलाई हेर्दा गत वर्षभन्दा १ लाख ९९ हजार ७१४ किलोग्राम ग्यास बढी आयात भएको छ । गत वर्ष बजारमा ग्यासको अभाव थिए । तर, अहिले झण्डै दोब्बर परिमाणमा ग्यास आयात हुँदा पनि अभाव कायमै छ ।
पछिल्लो तीन महिनामा बैशाख, जेठ र असारमा ५ हजार १२१.६६९ मेट्रिक टन आयात भएको छ । बैशाखमा १ हजार ५०५.७५२ मेट्रिक टन, जेठमा १ हजार ५५२.११४ मेट्रिक टन र असारमा २ हजार ६३.८०३ मेट्रिक टन ग्यास आयात भएको नेपाल आयल निगम चारआली शाखाले जनाएको छ ।
‘उपभोक्ताका कारण अभाव’
बजारमा देखिएको ग्यास अभावको कारण उपभोक्ता रहेको सरोकारवालाको भनाइ छ । उनीहरुको भनाइमा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्दा समस्या देखिएको छ । व्यापारी वा उद्योगीका कारण ग्यास अभाव नदेखिएको उनीहरुको भनाइबाट बुझ्न सकिन्छ ।
आयल निगम चारआलका शाखा प्रमुख उमेशकुमार पोखरेल पछिल्लो समय ग्यास आयात बढेको बताउनुहुन्छ । आयात पर्याप्त रहे पनि आगामी चाडपर्वलाई लक्षित गर्दै उपभोक्ताहरूले घर–घरमा ग्यास सञ्चय (स्टोर) गर्न थालेकाले बजारमा अभाव देखिएको उहाँको अनुमान छ ।
“ग्यासको आपूर्ति औसतभन्दा थोरै बढी नै भइरहेको छ”, उहाँले भन्नुभयो, “ग्यास पाइँदैन कि भन्ने आशंकमा उपभोक्ताले बढी ग्यास भण्डारण गरेको देखिन्छ, तीज, दशैं तथा तिहार जस्ता चाडपर्वहरू नजिकिँदै गर्दा खपत बढ्ने र पछि नपाइएला भन्ने डरले प्रत्येक परिवारले थप सिलिण्डर खरिद गरी भण्डारण गरिरहेका छन् ।”
डिपोहरूमा ग्यास झर्ने बित्तिकै उपभोक्ताहरूले तुरुन्तै खरिद गर्ने गरेकाले कृत्रिम चाप सिर्जना भएको उहाँको अनुमान छ ।
यद्यपि, बजारमा खाना पकाउनै नपाउने गरी ग्यासको अभाव भने नरहेको निगमको भनाइ छ । केही साताअघिसम्म दैनिक २०० देखि ३५० वटासम्म सर्वसाधारणका फोन आउने गरेकोमा पछिल्लो ४–५ दिनयता त्यस्ता गुनासाका फोनहरू आउन छाडेका प्रमुख पोखरेल बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी जिल्लामा ग्यासको आपूर्ति अवस्था सामान्य नै रहेको बताउनुहुन्छ । जिल्लाका बजार र यहाँ सञ्चालित उद्योगहरूमा बजार अनुगमन गरिएको बताउनुहुँदै उहाँले भन्नुभयो, “उद्योगमा ग्यास स्टक गरेको थिएको छैन । उनीहरुले आएको ग्यास बजारमै पठाएको देखिन्छ ।”
केही दिन अघि झापाका चार वटा ग्याँस उद्योग र स्थानीय बजारको स्थलगत अनुगमन गर्दा ग्याँसको मौज्दात (स्टक) र आपूर्ति सहज पाइएको प्रशासनको भनाइ छ । तथापि, ग्यासका लागि उपभोक्ताको लाइन घटेको छैन ।
हालसम्म जिल्लाका उपभोक्ताहरूबाट ग्यास नपाएको वा कालाबजारी भएको सम्बन्धी कुनै आधिकारिक गुनासो वा उजुरी परेको सहायक प्रजिअ रायमाझी बताउनुहुन्छ । अघिल्लो महिनाको तुलनामा आयात तथ्याङ्क राम्रो रहेको र बजारमा ग्यासको आपूर्ति नियमित भइरहेकाले काठमाडौँ लगायतका स्थानमा जस्तो झापामा हाहाकारको स्थिति नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
अभावको हल्लाका कारण केही उपभोक्ताहरूले अनावश्यक रूपमा ग्याँस सञ्चय (होल्डिङ) गर्न खोज्दा र त्रासका कारण बजारमा केही चाप देखिएको हुनसक्ने उहाँको भनाइ छ ।
ग्यासजस्तो संवेदनशील र जोखिमयुक्त वस्तु घरमा अनावश्यक रूपमा सञ्चय नगर्न र नआत्तिन उपभोक्ताहरूलाई आग्रह प्रशासनले आग्रह गरेको छ । साथै, बजारमा कृत्रिम अभाव वा नाफाखोरी गर्ने प्रयास गरिएमा कडा कारबाही गरिने र स्थिति थप सहज बनाउन निरन्तर अनुगमन गरिने जनाएको छ ।
कहाँ गयो त ग्यास ?
मेची भन्सारको तथ्यांक, आयल निगम र जिल्ला प्रशासन कार्यालयको भनाइलाई आधार मान्ने हो भने ग्यास आयात पर्याप्त भइरहेको छ । उद्योगीले पनि बजारमा ग्यास पठाइरहेकै छन् । डिलरले पनि ग्यास वितरण गरिरहेकै छन् ।
तर पनि ग्यास अभाव नै छ किन र कसरी ? उपभोक्ताले अधिक सञ्चित गरेकै कारणले बजारमा ग्यास अभाव भएकै हो त ? यसमा ग्यास उद्योगी र वितरक (डिलर) को दोष छैन ? प्रश्न धेरै भए पनि उत्तर गौण छ ।
अभर परेका उपभोक्तालाई बढी मूल्य लिएर ग्यास बिक्री गरिएको पनि सुन्न पाएन्छ । खाली सिलिण्डर दिएर भरि सिलिण्डर दिने भन्दा पनि बढी मूल्य लिएर नयाँ सिलिण्डर मात्र बिक्री गर्ने काम पनि भइरहेको छ । डिलरले अर्को पटक ग्यास नदेला कि भनेर बढी मूल्य तिर्दा पनि चुप लाग्नुपर्ने बाध्यतामा छन् उपभोक्ता ।
गुनासो–उजुरी गर्दा कारबाही नहुने र गुनासो गर्ने कालोबजारी गर्नेको ‘निशाना’मा पर्ने डरले समेत पीडित उपभोक्ताले आधिकारिक ठाउँमा गएर उजुरी गर्न सकेका छैनन् । बजारमा ग्यास सहज बनाउन स्थानीय तह, प्रशासन र सरोकारावालाहरुले प्रभावकारी बजार अनुगमन गर्न जरुरी छ ।
ग्यासजस्तो अत्यावश्यक वस्तुको अभाव सामान्य व्यापारिक समस्या होइन । यो प्रत्यक्ष रूपमा नागरिकको दैनिक जीवनसँग जोडिएको विषय हो । त्यसैले सर्वसाधारणलाई घण्टौं लाइनमा उभ्याएर ‘अभाव छैन’ भन्नुको कुनै अर्थ छैन । अभाव छैन भने लाइन किन ? पर्याप्त आपूर्ति छ भने सिलिण्डर किन पाइँदैन ? र, बजारमा बढी मूल्यमा ग्यास बिक्री भइरहेको छ भने नियमनकारी निकाय कहाँ छन् ?
यी प्रश्नको जवाफ खोज्ने जिम्मेवारी सरकार र सम्बन्धित निकायको हो । अब पनि दोष उपभोक्ताको टाउकोमा थोपरेर बस्ने होइन, ग्यासको आयातदेखि वितरणसम्मको सम्पूर्ण प्रणाली छानबिन गरी वास्तविक समस्या पहिचान गर्नुपर्छ । जनताको भान्सामा सहज रूपमा ग्यास पुग्नु नै सरकारी तथ्याङ्कको वास्तविक परीक्षा हो ।


