
बुद्धशान्ति, १५ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका–१ ले युवा खेलाडीलाई फुटबल प्रशिक्षण प्रदान गर्न वडामा क्रियाशील तीनवटा क्लबसँग सम्झौता गरेको छ।
युवा खेलाडीलाई नियमित र व्यवस्थित प्रशिक्षण गराउने उद्देश्यले न्यू स्टार यूथ क्लब भोटेटार, होक्से युवा क्लब र आदर्श क्लब बुधबारेसँग वडाले सम्झौता गरेको हो। सम्झौताअनुसार तीनवटै क्लबले फुटबल प्रशिक्षणका लागि अनिवार्य रूपमा प्रशिक्षक नियुक्त गर्नुपर्नेछ।
सम्झौतामा न्यू स्टार यूथ क्लब भोटेटारका अध्यक्ष एकराज भुजेल, होक्से युवा क्लबका अध्यक्ष आशिष बराल र आदर्श क्लब बुधबारेका अध्यक्ष दीपक लिम्बूले हस्ताक्षर गर्नुभयो। वडाको तर्फबाट वडा सचिव लोकमाया वानियाले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो।
कार्यक्रममा एन्फा रेफ्री लोकराज अधिकारी, खेलकुद विकास समिति अध्यक्ष बालकुमार राई तथा समितिका सहसचिव मनोज थेगिम लिम्बूको उपस्थिति थियो।
वडा अध्यक्ष अनिल वाग्लेका अनुसार प्रशिक्षकलाई व्यावसायिक बनाउँदै नयाँ पुस्ताका खेलाडीलाई उत्कृष्ट प्रशिक्षण उपलब्ध गराउने उद्देश्यले योजना अघि बढाइएको हो।
वडाले चालु आर्थिक वर्षमा तीनवटै क्लबलाई ५०र५० हजार रुपैयाँका दरले कुल १ लाख ५० हजार रुपैयाँ फुटबल प्रशिक्षणका लागि बजेट विनियोजन गरेको छ। थप १ लाख रुपैयाँ खेलकुद क्षेत्रका लागि छुट्याइएको वडा अध्यक्ष वाग्लेले जानकारी दिनुभयो।
बजेटअनुसार न्यू स्टार यूथ क्लबले भोटेटार खेल मैदान, होक्से युवा क्लबले त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदान र आदर्श क्लब बुधबारेले बुद्धआदर्श माध्यमिक विद्यालयको खेल मैदानमा युवा खेलाडीलाई फुटबल प्रशिक्षण दिनेछन्।
वडा अध्यक्ष वाग्लेले युवालाई खेलकुदमा जोड्दै क्लबमार्फत प्रशिक्षण गराउने योजनाको सुरुवात गरिएको बताउनुभयो। उहाँका अनुसार योजनालाई निरन्तरता दिन सके व्यावसायिक खेलाडी उत्पादन गर्न सकिने विश्वास छ।
युवा पुस्तामा बढ्दो मोबाइलको प्रयोग तथा गलत बानीका कारण उत्पन्न हुनसक्ने समस्यालाई न्यूनीकरण गर्दै असल, सक्षम र प्रतिस्पर्धी युवा उत्पादन गर्ने उद्देश्यले खेलकुदमा लगानी बढाइएको उहाँले बताउनुभयो।
यसैबीच, बुद्धशान्ति गाउँपालिका–१ ले आगामी असोजमा सञ्चारमाध्यममा आबद्ध संस्थाबीच प्रतिस्पर्धा हुने गरी ‘बुद्धशान्ति मिडिया कप फुटबल’ आयोजना गर्ने तयारी गरेको छ। मिडिया कपसमेत वडा नम्बर १ मै सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको जनाइएको छ।


