
बिर्तामोड, १५ भदौ । वैदेशिक रोजगार व्यवसायी संघ झापाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ४ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
झापाका म्यानपावर व्यवसायीहरूले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने संघले जनाएको छ । संघले सोमबार बिर्तामोडमा आयोजना गरेको संक्षिप्त कार्यक्रममा सहयोग रकम घोषणा गरेको हो ।
कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघको परोपकारी कार्यको प्रशंसा गर्नुभयो। उहाँले संघले यसअघि पनि विभिन्न विपद्का समयमा सहयोग गर्दै आएको बताउनुभयो ।
संघका अध्यक्ष धनबहादुर पन्धाकले बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गर्न लागिएको बताउनुभयो। उहाँले सहयोग रकम जुटाउने सम्पूर्ण म्यानपावर व्यवसायीप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो ।
अध्यक्ष पन्धाकले गत वर्षको बाढीबाट प्रभावित इलाम र झापाका नागरिकलाई समेत संघले सहयोग गरेको स्मरण गर्नुभयो । त्यस्तै, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको पुनःनिर्माणमा समेत संघले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव नीरकुमार खत्री ‘नीरन’ले गर्नुभएको थियो ।
अध्यक्ष पन्धाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष प्रकाश राई, महिला उपाध्यक्ष सरिता बराल, सचिव राजेन्द्र पौडेल, पुष्पराज प्रसाई, कोषाध्यक्ष कृष्ण खतिवडा, सह–कोषाध्यक्ष प्रेमबहादुर निरौला, प्रवक्ता ओमप्रकाश भट्टराईलगायत कार्यसमिति सदस्य तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति थियो ।


