
झापा, १५ भदौ । झापामा सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको हुक्कामा प्रयोग हुने फ्लेवरसहित भारतीय भ्यान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार भदौ १४ गते बिहान ७ः१० बजे बुद्धशान्ति गाउँपालिका–५ स्थित बहुवन सामुदायिक वनको भित्री सडकखण्डमा भारतबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो।
भुटानी शरणार्थी शिविर सुरक्षा बेस हटलाइनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र ठाकुरको कमान्डमा खटिएको १० जनाको गाडी मोबाइल टोलीले विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा ध्द्य ठद्धक् घघटछ नम्बरको भारतीय भ्यानमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको हुक्कामा प्रयोग हुने फ्लेवरका ८ कार्टुन फेला पारेको थियो।
सुरक्षा टोलीलाई देखेपछि भ्यानका चालकले सामान तथा सवारी साधन छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि टोलीले सामान र भ्यान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद हुक्कामा प्रयोग हुने फ्लेवरको मूल्य ५ लाख रुपैयाँ र भारतीय भ्यानको मूल्य १० लाख रुपैयाँ रहेको छ। सामान तथा सवारी साधनको कुल मूल्य १५ लाख रुपैयाँ रहेको जनाइएको छ।
बरामद सामान र भारतीय भ्यानलाई आवश्यक कानुनी कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा भदौ १५ गते बिहान १०ः५० बजे बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसायलीले जानकारी दिनुभयो।


