
इलाम, १५ भदौ । इलामको रोङ गाउँपालिकाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ८ लाख ४९ हजार १६६ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बाढीबाट ठूलो जनधनको क्षति भई प्रभावित परिवारहरू कठिन परिस्थितिमा रहेका बेला गाउँपालिकाले स्थानीय तहका तर्फबाट पीडितको साथमा उभिँदै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अनुसार भदौ ११ गते बसेको आकस्मिक कार्यपालिका बैठकले रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एकमुष्ट ८ लाख ४९ हजार १६६ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
विपद्को कठिन परिस्थितिमा पीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्नु स्थानीय तहको सामाजिक दायित्वसमेत भएकाले सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
यस्तै, गाउँपालिकाले रसुवा बाढीपीडितका लागि मानवीय सहयोग गर्न सम्पूर्ण रोङवासीलाई समेत आह्वान गरेको छ। विपद्को यस कठिन घडीमा सबैको साथ र सहयोगले पीडित परिवारको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाले जनाएको छ।


