
झापा, १६ भदौ । भोटेकोशीको बाढीमा परी कोशी प्रदेशका १५९ जना बेपत्ता भएका छन् । जसमध्ये ५ जनाको उद्धार, २७ जना सम्पर्कमा आएको, १ जना उपचाररत रहेको तथा १ जनाको मृत अवस्थामा फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाइएको छ ।
सबैभन्दा बढी सोलुखुम्बुमा ४२ जना बेपत्ता भएका छन् । त्यसपछि ओखलढुङ्गामा २५, मोरङमा १७, झापामा १३, सुनसरी र उदयपुरमा १६–१६, खोटाङमा १० तथा इलाममा ९ जना बेपत्ता रहेको विवरणमा उल्लेख छ । झापा दमक–१० का २६ वर्षीय देवलाल मुर्मू सतारको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गामा ३ जनाको उद्धार तथा १० जना सम्पर्कमा आएका छन् । ताप्लेजुङमा ३, सुनसरीमा ५, उदयपुरमा ५, सोलुखुम्बुमा ३, खोटाङमा १ र अन्य जिल्लामा समेत गरी २७ जना सम्पर्कमा आएका छन् । विवरणअनुसार इलाममा एक जनाको उपचार भइरहेको छ भने एक जनाको मृत अवस्थामा फेला परेको छ।


