
झापा, १६ भदौ । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन्।
उनका अनुसार सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार रुपैयाँ, गाउँपालिकाका कर्मचारीबाट सात लाख ३८ हजार ६७९ रुपैयाँ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ रुपैयाँ सङ्कलन गरिनेछ।
यसरी जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट सङ्कलन हुने रकमसँगै गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट गरी कुल २५ लाख २८ हजार २८८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।


