
झापा, १७ भदौ । झापामा प्रहरीले अवैध हातहतियार तथा वन्यजन्तुको अखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ १४ गते राति करिब ११ः०५ बजे बिर्तामोड नगरपालिका–६ स्थित देउनिया नजिक चोरीमा संलग्न रहेको सूचनाका आधारमा भद्रपुर नगरपालिका–१० का २४ वर्षीय सन्देश हस्दालाई अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका हस्दा हातकडीसहित फरार भएपछि खोजतलासका क्रममा बिर्तामोड–६ स्थित सेन्ट जेभियर स्कुलको पछाडि बाँसको झ्याङमा कालो रङको प्लास्टिकमा लुकाइएको अवस्थामा हातकडीको दुवै भाग ग्लेन्डरले काटिएको अवस्थामा फेला परेको थियो । त्यसपछि भदौ १६ गते राति करिब ११ः२५ बजे भद्रपुर नगरपालिका–१० स्थित सिद्धार्थ चोकबाट उनलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका क्रममा भद्रपुर–१० जेसिस टोल बस्ने साइला मुर्मुको घरमा खानतलासी गर्दा काठको भरुवा बन्दुकजस्तो देखिने बट्ट–१ थान, व्यारेलजस्तो देखिने फलामको पाइप–४ थान, फलामको व्यारिङ–७४ थान, बारुदजस्तो देखिने धुलो करिब १ ग्राम, भरुवा बन्दुकमा बारुद भर्न प्रयोग गरिने फलामको झिर–१ थान, जंगली जनावरको हरिणको जस्तो देखिने सिङ–२ थान, दुम्सीको भुँडीजस्तो देखिने वस्तु–५ थान र दुम्सीको काँडाजस्तो देखिने २७० वटा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा संलग्न व्यक्तिमाथि अवैध हातहतियार तथा वन्यजन्तुसम्बन्धी कानुनअनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ ।


