
झापा, १७ भदौ । झापा जिल्लामा परिचालित सशस्त्र प्रहरीले सूचना सङ्कलन, सीमा निगरानी तथा घटनाको प्रमाण सङ्कलनका लागि ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले आफूसँग रहेका दुई वटा गोप्रो क्यामेरा परिचालनमा ल्याएको हो। क्यामेराको प्रयोगबाट सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी तथा सूचना सङ्कलनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नुका साथै कुनै घटना भएमा आवश्यक प्रमाण सुरक्षित गर्न समेत सहज हुने गणले जनाएको छ।
विशेषगरी सशस्त्र प्रहरी बल, नेपालको प्रमुख सीमा क्षेत्रका रूपमा रहेको काँकडभिट्टामा परिचालित ‘बोर्डर इन्टरएक्सन टिम’ ले गोप्रो क्यामेरा प्रयोग गर्न थालेको जनाइएको छ। सीमा सुरक्षाका क्रममा यस प्रकारको प्रविधिको प्रयोग नेपालमै पहिलोमध्ये हुनसक्ने सशस्त्र प्रहरीको दाबी छ।
झापा गणमा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य गणपतिको जिम्मेवारीमा सरुवा भएर आएपछि सीमा सुरक्षा, निगरानी तथा तस्करी नियन्त्रणका गतिविधिलाई थप सक्रिय बनाइएको बताइएको छ।
यसै क्रममा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा समेत सशस्त्र प्रहरीले उल्लेखनीय सफलता हासिल गर्दै आएको जनाइएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि स्थानीय नागरिकबाट समेत प्रत्यक्ष सूचना तथा सहयोग प्राप्त भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रविधिको प्रयोगसँगै सीमा निगरानीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा गैरकानुनी गतिविधि नियन्त्रणमा प्रमाणमा आधारित अनुसन्धानलाई सहयोग पुर्याउने उद्देश्यले गोप्रो क्यामेराको प्रयोगलाई अघि बढाइएको हो।


