
इलाम, १८ भदौ । इलाम नगरपालिका–१० बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिज निर्माणका सामग्री बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब ४ः४५ बजे झापाबाट इलामतर्फ आउँदै गरेको WB29B2944 नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट करिब पाँच मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकका सहचालक भारतको दक्षिण दिनाजपुर जिल्लास्थित गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक सोही स्थानका करिब ३० वर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ निवासी २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्।
प्रहरीका अनुसार चालक बर्मुनको बाहिरी भागमा चोटपटक देखिएको छैन र उनी बोल्न सक्ने अवस्थामा छन्। तामाङको बायाँ हातमा सामान्य चोट लागेको छ। दुवै घाइतेलाई थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


