
झापा, १८ भदौ । मोरङ, उदयपुर र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ १७ गते विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय रानी, मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१६ बाट १ ग्राम ३७० मिलिग्राम ब्राउनसुगरसहित मोरङको केराबारी गाउँपालिका–७ का ३३ वर्षीय कमल राईलाई पक्राउ गरेको छ।
यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का २६ वर्षीय सावन राईले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गरेको थियो। त्यस क्रममा ट्रामाडोल १ हजार ४५४ क्याप्सुल र डाइक्लोमाइन १ हजार ४५४ ट्याब्लेट बरामद भएपछि सावन र चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय शुभ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ बाट १९ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित धादिङका २७ वर्षीय सुवास अर्याल र सिन्धुपाल्चोकका ३७ वर्षीय विक्रम कार्कीलाई पक्राउ गरेको छ।
सोही टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का गौतम ऋषिदेव र सुन्दरहरैँचा नगरपालिका–७ का २८ वर्षीय अमिन चौधरीलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


