
झापा, १८ भदौ । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि लायन्स इन्टरनेशनलले नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।
लायन्स इन्टरनेशनल फाउन्डेसनले तत्काल राहत व्यवस्थापन तथा पुनःस्थापनाका लागि २ लाख अमेरिकी डलर बराबरको मेजर क्याटास्ट्रोफी ग्रान्ट प्रदान गरेको छ। साथै, लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ अन्तर्गतका विभिन्न डिस्ट्रिक्ट तथा क्लबहरूले राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिरहेका छन्।

बाढी आएको दोस्रो दिनदेखि सुरु गरिएको सहयोग अभियानमार्फत १५ वटा डिस्ट्रिक्टबाट संकलित १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। यसै क्रममा डिस्ट्रिक्ट ३२५ सीले छ दिनभित्र संकलन गरेको १६ लाख ११ हजार रुपैयाँ पनि बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।
लायन्स क्लबहरूले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नुका साथै विस्थापित परिवारलाई आवास, खाद्यान्नलगायत सेवा उपलब्ध गराउँदै आएका छन्।
निमित्त सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले विपद्को समयमा सामाजिक संघ–संस्थाबाट प्राप्त सहयोगले उद्धार तथा राहत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने बताए।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ का गभर्नर लीला चिमरियाले राहतसँगै प्रभावित परिवारको पुनःस्थापनामा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा फष्ट भाइस डिस्ट्रीक गभर्नर रमेश खत्रीले पनि आफ्नो भनाइ राखेका थिए। कार्यक्रमको सञ्चालन डिस्ट्रीक ३२५ क्याबिनेट सेक्रेटरी रेखा गुरुङले गरेकी थिइन्।


