
बिर्तामोड, १८ भदौ । स्वास्थ्य उपचार तथा ‘होल बडी चेकअप’को नाममा सर्वसाधारणलाई भ्रममा पारी विभिन्न सामग्री बिक्री–वितरण तथा रकम असुली गरेको आरोपमा झापामा ४१ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–५ मित्र नगरस्थित एक घरको दोस्रो तलामा भाडामा लिई ग्लोबल ओरियन्स नेपाल नामक कम्पनी सञ्चालन गर्दै आएका व्यक्तिहरूमाथि अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार कम्पनीका कर्मचारीहरूले ‘म्यानेजमेन्ट कोर टिम’ लगायतका परिचयपत्र तथा प्रचार सामग्री प्रयोग गरी युवा–युवतीलाई विभिन्न व्यक्तिसँग सम्पर्क गराई स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने भन्दै होल बडी चेकअपका लागि कम्पनीमा ल्याउने गरेका थिए ।
त्यसपछि विभिन्न व्यक्तिबाट रकम असुली गर्ने तथा विभिन्न प्रकारका फुड सप्लिमेन्ट बिक्री गर्न सिफारिस गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कम्पनीमा छापा मारेको थियो ।
छापा तथा अनुसन्धानका क्रममा कम्पनीका चिकित्सक बताइएका इलाम देउमाई नगरपालिका–१ का ४९ वर्षीय पिताम्बर कट्टेल र इलाम देउमाई नगरपालिका–९ का २८ वर्षीय सुजन लिम्बू सहित ४१ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेकामध्ये १९ जना पुरुष र २२ जना महिला रहेका छन् । पिताम्बर कट्टेल र सुजन लिम्बूलाई थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ भने अन्य ३९ जनालाई आवश्यक सोधपुछपछि छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले कम्पनीबाट तीन थान ल्यापटप, ३९ थान मोबाइल, नौ थान पेनड्राइभ, दुई थान मेमोरी कार्ड, नगद ८६ हजार ७५५, कम्पनीका अभिलेख तथा विभिन्न कागजात बरामद गरेको छ । विभिन्न ३१ किसिमका औषधिजन्य सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


