
झापा, १८ भदौ । नारी सञ्चार गृह झापाले आफ्नो १५औँ स्थापना दिवस तथा १४औँ वार्षिक साधारण सभाका अवसरमा बाढीपीडितलाई राहत सहयोग गर्नुका साथै सदस्यहरूलाई लेखनवृत्ति र सम्मान प्रदान गरेको छ।
बिर्तामोडस्थित जयन्द्र प्रसाईं साहित्य सेवा कोषको सभा हलमा आयोजित कार्यक्रममा गृहले भोटेकोशी क्षेत्रका बाढी प्रभावित परिवारको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ हजार सहयोग गरेको हो।
कार्यक्रममा संस्थाका चार जना सदस्यलाई जनही रु. ५ हजार नगद र सम्मानपत्रसहित पुरस्कृत तथा सम्मान गरिएको थियो।
सामुदायिक विद्यालयमा खानेपानी, शौचालय तथा सेनेटरी प्याड भेन्डिङ मेसिनको अवस्थासम्बन्धी लेखनवृत्ति सृजना परियारलाई र ‘जलवायु परिवर्तन र मानव जीवनमा प्रभाव’ विषयक लेखनवृत्ति सविना लिम्बूलाई प्रदान गरिएको थियो।
त्यस्तै, संस्थाकी पूर्वअध्यक्ष भिमा शिवाकोटीले स्थापना गरेको ‘तीजको सामाजिक तथा सांस्कृतिक महत्व’ विषयक लेखनवृत्ति किरण हुमागाईंलाई प्रदान गरियो। संस्थापक अध्यक्ष सावित्रा दाहालले स्थापना गरेको ‘वर्ष उत्कृष्ट सदस्य’ पुरस्कार रञ्जिता खड्कालाई प्रदान गरिएको थियो।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा संस्थाकी पूर्वअध्यक्ष अम्बिका भण्डारी प्रमुख अतिथि रहेकी थिइन्।
कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल, पूर्वअध्यक्ष भिमा शिवाकोटी, निवर्तमान अध्यक्ष रेजिना गौतम तथा संस्थापक सदस्यहरू भवानी क्षेत्री, सुशिला सङ्ग्रौला र इन्दु पूर्वेलीको आतिथ्य रहेको थियो। कार्यक्रमको स्वागत उपाध्यक्ष जोश्ना श्रेष्ठले गरेकी थिइन्।
साधारण सभामा सचिव दीपा पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुनिरा मैनालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मतिले पारित भएको छ।
सोही अवसरमा गृहमा आबद्ध भएका नयाँ १३ जना सदस्यलाई स्वागतसमेत गरिएको थियो।


