
झापा, १९ भदौ। बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
नेपालमा आएको विनाशकारी बाढीपछि चलिरहेको राहत, पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बङ्गलादेशले १५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो ।
बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनुभएको हो ।
नेपालमा बाढीको विपद्प्रति बङ्गलादेशको संसद्ले शोक प्रस्तावसमेत पारित गरेको थियो । त्यहाँको संसद्ले विपद्को अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बङ्गलादेश सरकारलाई ध्यानाकर्षण गराएको थियो ।


