
बिर्तामोड, १९ भदौ । बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पस जाने सडक हिलाम्मे र जीर्ण बनेपछि विद्यार्थी, शिक्षक तथा स्थानीयवासीले दैनिक सास्ती खेप्नुपरेको छ। पानी परेसँगै सडकमा पानी जम्ने, हिलो हुने र ठाउँ–ठाउँमा गहिरा खाल्डा पर्ने गरेका कारण आवतजावत जोखिमपूर्ण बनेको हो।
तस्बिरमा देखिएझैँ सडकको अधिकांश भाग हिलाम्मे छ। पानी जमेर साना–साना पोखरी बनेका छन् भने सवारीसाधनका पाङ्ग्राले खोस्रेका गहिरा खाल्डाले सडकलाई थप जोखिमपूर्ण बनाएको छ।
यो बाटो केही घर जोड्ने सामान्य भित्री सडक मात्र होइन, सयौँ विद्यार्थीको दैनिक आवतजावत हुने इन्द्रचन्द्र क्याम्पस पुग्ने प्रमुख पहुँच मार्ग हो। बिहान–साँझ यही बाटो भएर क्याम्पस जाने विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाले वर्षायाममा विशेष समस्या भोग्दै आएका छन्।
हिलोका कारण विद्यार्थीको पोसाक फोहोर हुने, मोटरसाइकल तथा स्कुटर चिप्लिएर लड्ने र सवारीसाधन चलाउन कठिन हुने गरेको स्थानीयको भनाइ छ। पैदलयात्रीका लागि समेत सडक पार गर्न निकै कठिन हुने गरेको छ।
स्थानीयवासीले सडकको तत्काल स्तरोन्नति तथा पानी निकासको उचित व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। क्याम्पसजस्तो शैक्षिक संस्थामा दैनिक सयौँ विद्यार्थी आवतजावत गर्ने भएकाले सडकको समस्या समाधानमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।


