
झापा अनलाइन
झापा, २२ भदौ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाका स्थानीय तह, संघसंस्था, व्यवसायी तथा सर्वसाधारणबाट धमाधम सहयोग जुटि रहेको छ ।
हालसम्म उपलब्ध विवरण अनुसार झापाका आठ स्थानीय तहले मात्रै १ करोड ५४ लाख ८९ हजार ५४२ सहयोग गर्ने निर्णय÷ प्रतिबद्धता जनाएका छन् । यसबाहेक वडा कार्यालय, सामाजिक संस्था, सहकारी, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिगत दाताबाट समेत लाखौं रुपैयाँ सहयोग गरेका छन्÷ गर्ने भएका छन् ।
स्थानीय तहअन्तर्गत बुद्धशान्ति गाउँपालिकाले ३२ लाख ५५ हजार १५४, दमक नगरपालिकाले ३१ लाख, कचनकवल गाउँपालिकाले २९ लाख ६ हजार १००, झापा गाउँपालिकाले २५ लाख २८ हजार २८८, अर्जुनधारा नगरपालिकाले २१ लाख, भद्रपुर नगरपालिकाले ११ लाख, बिर्तामोड नगरपालिकाले ५ लाख र बाह्रदशी गाउँपालिकाले १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
यीमध्ये केही रकम पालिकाको विपद् व्यवस्थापन कोषबाट र केही जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीबाट संकलन गर्ने गरी निर्धारण गरिएको छ ।
बुद्धशान्ति गाउँपालिकाको सहयोगमा विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको योगदान समेटिएको छ । त्यस्तै, झापा गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट २ लाख, जनप्रतिनिधिबाट ६० हजार, कर्मचारीबाट ७ लाख ३८ हजार ६७९ र शिक्षकबाट १५ लाख २९ हजार ४०९ जुटाउने जनाएको छ ।
कचनकवल गाउँपालिकाले पनि विपद् कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीको योगदान समेटेर २९ लाख ६ हजार १०० सहयोग गर्ने निर्णय गरेको छ । शिवसताक्षी नगरपालिकाका कर्मचारीले व्यक्तिगत रूपमा करिब ८ लाख संकलन गरी बाढीपीडितका लागि सहयोग गरेका छन् ।
त्यसैगरी, मेचीनगर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीबाट व्यक्तिगत रूपमा सहयोग जुटाउने पहल भएको विवरण सार्वजनिक भए पनि संस्थागत रूपमा कति रकम सहयोग गर्ने भन्ने स्पष्ट भएको छैन ।
बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने निर्णय गरे पनि बिर्तामोड–८ वडा कार्यालयले छुट्टै १ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।
होटलदेखि सहकारीसम्मको सहयोग
स्थानीय तहबाहेक झापाका विभिन्न संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानले पनि बाढीपीडितका लागि सहयोग गरेका छन् ।
लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ सीले १६ लाख ११ हजार जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
मेचीनगर–८ स्थित होटल मेची क्राउनले २६ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको विवरण छ । त्यस्तै, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले १५ लाख सहयोग गरेको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख, वैदेशिक रोजगार व्यवसायी संघ झापाले ४ लाख ५१ हजार, रोटरी क्लब अफ दमकले २ लाख ५ हजार १११, झापा गोल्डकपले १ लाख १ हजार, मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८ हजार ६८० सहयोग गरेको छ ।
त्यसैगरी, अखिल नेपाल महिला संघ झापाले ५१ हजार, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानले १ लाख १ हजार १११, मेची–महाकाली बुहारी संयुक्त आवाजले ४० हजारभन्दा बढी सहयोग गरेका छन् ।
कञ्चन इङ्लिस बोर्डिङ स्कुल बिर्तामोड–७ का विद्यार्थी, शिक्षक तथा कर्मचारीले संकलन गरेको ३० हजार १३५ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन् भने नारी सञ्चार गृह झापाले १५ हजार रुपैयाँ सहयोग गरेको छ ।
व्यवसायी तथा व्यक्तिगत दाताको पनि योगदान
दमकबाट दमक कृषि डेरी एण्ड एग्रो प्रालि तथा गर्तौला भेट्स फर्माले १ लाख १० हजार २, सिग्देल डिपार्टमेन्टल स्टोरका सञ्चालक लोकनाथ सिग्देलले ५१ हजार र ग्लोबल मेडिल्याब एण्ड सर्जिकल प्रालिका सञ्चालक बद्री बरालले ५० हजार सहयोग गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा सञ्चालित राहत अभियानमा पहिलो चरणमै ६ लाख ५६ हजार ९३२ संकलन भएको थियो । उक्त अभियानमा आर.ए. थापा इन्टरप्राइजेजका सञ्चालक तथा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार थापाले ५ लाख १ हजार १२१ व्यक्तिगत रूपमा सहयोग गरेका छन् ।
झापाबाट भोटेकोशी बाढीपीडितका लागि करोडौं रुपैयाँ सहयोग भइसकेको छ । व्यक्तिगत रुपमा पनि धेरैले कोषमा सहयोग गरेका छन् ।


