
भद्रपुर, २२ भदौ । झापाको भद्रपुरबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो ।
आइतबार दिउँसो ४ः१० बजे भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुल क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी महेशपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले बिर्तामोड नगरपालिका–९ लाखीबारीका १९ वर्षीय जनक माझीलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका माझीलाई चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो रङको लिसाइलो पदार्थ १६ ग्राम, नेपाली नगद ७१० रुपैयाँ र एक थान नेपाली नागरिकता प्रमाणपत्र फेला परेको थियो ।
बरामद पदार्थ तथा सामानसहित नियन्त्रणमा लिइएका माझीलाई आवश्यक कानुनी कारबाहीका लागि आइतबार साँझ वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो ।


