
झापा, २२ भदौ । नकारात्मकता बढिरहेको वर्तमान अवस्थामा युवाको सकारात्मक पहलबाट मात्रै असल समाज निर्माण गर्न सकिने बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेले बताएका छन्।
बुद्धशान्ति गाउँपालिका–१ को समन्वयमा सञ्चालित दुईदिने युवा नेतृत्व विकाससम्बन्धी ‘लिडरशिप एकाडेमी’ आइतबार सम्पन्न भएको छ। सहारा नेपाल बिर्तामोडको आयोजना तथा ग्लोबल लर्निङ ल्याब इन्टरनेसनलको सहयोगमा एकाडेमी सञ्चालन गरिएको हो।
एकाडेमीको समापन कार्यक्रममा वडाध्यक्ष वाग्लेले समाजमा विद्यमान विभिन्न समस्या समाधान गर्दै असल समाज निर्माणका लागि युवा शक्ति अग्रसर हुनुपर्ने बताए। उनले दिगो विकासका लक्ष्य हासिल गर्न पनि युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समाजका सबै पक्षको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताए।
उनका अनुसार समाज परिवर्तन तथा विकास निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुन्छ। यस्ता नेतृत्व विकाससम्बन्धी कार्यक्रमले युवामा नेतृत्व क्षमता, आत्मविश्वास, निर्णय क्षमता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने उनले बताए।
वडाध्यक्ष वाग्लेको अध्यक्षतामा सम्पन्न एकाडेमीमा कुसुम उप्रेती, विनोद दाहाल, ममता अधिकारी र प्रतिमा भट्टराईले विभिन्न विषयमा सहजीकरण गरेका थिए।
एकाडेमीमा बुद्धशान्ति गाउँपालिका–१ सहित बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका १८ देखि ३५ वर्ष उमेर समूहका ३५ जना युवाको सहभागिता रहेको थियो।
बुद्धशान्ति–३ स्थित चखेवा रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरूले दुईदिने एकाडेमी निकै फलदायी रहेको बताएका थिए।
समापन कार्यक्रममा सहभागीलाई कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले, वडा सदस्य मोहनकुमार राई, सहजकर्ता कुसुम उप्रेती तथा सहारा नेपालका दीपेशराज ओलीलगायतले प्रमाणपत्र वितरण गरेका थिए।
दुई दिनसम्म सञ्चालन भएको एकाडेमीमा दिगो विकासका लक्ष्य, नेतृत्व विकास, सकारात्मक सोच, निर्णय क्षमता, सामाजिक उत्तरदायित्व तथा युवाको भूमिका लगायतका विषयमा प्रशिक्षण तथा सहजीकरण गरिएको थियो।


