
अर्जुनधारा, २२ भदौ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.को इकाइगत साधारणसभा शुरु भएको छ ।
संस्थाको १४ औं साधारणसभा अन्तरगत आज सोमबारदेखि इकाइगत साधारणसभा शुरु भएको हो । आज अर्जुनधारा, शनिश्चरे र खुदुनाबारीलाई इकाइ १ बनाएर गरिएको इकाइगत साधारणसभामा तीन जना उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता एवम् सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूको प्रमुख आतिथ्यमा भएको साधारणसभामा उत्कृष्ट आवधिक बचतकर्ताका रुपमा भेषराज पनेरु, उत्कृष्ट शिक्षा बचतकर्ताका रुपमा अंकित आचार्य र उत्कृष्ट कारोकारकर्ताको रुपमा लीलादेवी बराललाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाको शेयर पुँजी ३ करोड ५१ लाख ७४ हजार १ सय, कोष हिसाब २ करोड ३७ लाख ५ हजार ४ सय, बचत संकलन २२ करोड ५१ लख २५ हजार ५४८, लगानीमा रहिरहेको रकम १७ करोड ६१ लाख ७८ हजार ३४४ रहेको जानकारी दिनुभयो ।
संस्थाले चालू आर्थिक वर्ष २०८३÷०८४ मा बचत संकलन २५ करोड र ऋण लगानी २० करो ६० लाख ७५ हजार पु¥याउने र ६१२ जना सदस्य वृद्धि गर्ने लक्ष्य लिएको छ ।
इकाइगत सभामा लेखा समिति संयोजक सूर्यकुमार खतिवडाले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उहाँले शेयर पूँजी र बचत संकलन अघिल्लो वर्षको तुलनमा बृद्धि हुँदै गएकाले संस्था थप मजबुद हुँदै गएको बताउनुभयो ।
आगामी दिनमा संस्थाले आफ्ना सदस्यहरूको आवश्यकता र अपेक्षालाई अझ नजिकबाट बुझ्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने, सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धिमा सहयोग गर्ने, वित्तीय अनुशासनलाई अझ मजबुत बनाउने तथा सहकारीको मूल भावना र सिद्धान्तअनुरूप सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा ऋण उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले संस्थाले ६९२ जना ऋणि सदस्यलाई १८ करोड ४७ लाख २५ हजार ९५६ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिनुभयो । जसबाट २ करोड २६ लाख ५९ हजार ९६८ रुपैयाँ ब्याज आम्दानी भएको उहाँले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव युवराज निरौलाले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, तारादेवी गौतम, रुपा कोइराला, लक्ष्मीप्रसाद घिमिरे, अशोक गिरी, रोहित काफ्ले, लेखा समिति सदस्य लक्ष्मी देवान, संस्थाका व्यवस्थापक तीर्थ तिम्सिना, कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।



