
झापा, २२ भदौ । भोटेकोशी नदीमा आएको हिमताल विस्फोटका कारण घरबारविहीन तथा आफन्त गुमाएर पीडित बनेका परिवारको सहयोगका लागि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, झापा जिल्ला कार्यसमितिले २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो। सहयोग रकम तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कोशी प्रदेश प्रमुख आनन्द गुरुङ मार्फत हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला कार्यसमितिका अध्यक्ष जगत गुरुङले कोशी प्रदेश प्रमुख आनन्द गुरुङ र केन्द्रीय सदस्य टिकाराम गुरुङ मार्फत तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय समितिको समन्वयमा प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको जनाएको छ।
विपद्को कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिन तथा मानवीय सहयोगको भावनालाई निरन्तरता दिन झापा जिल्ला कार्यसमितिले उक्त सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले प्राकृतिक विपद्मा परेका नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।


