
बिर्तामोड, २३ भदौ । भोटेकोशी बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजले विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरूसँगको सहकार्यमा संकलन गरेको १५ लाख रुपैयाँ राहत रकम नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको नेतृत्वमा सोमबार अर्थ मन्त्रालय पुगेको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई राहत रकमको चेक हस्तान्तरण गरेको हो।
राहत संकलन अभियानमा झापाली समाज कतारले ४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको झापाली समाज कतारका महासचिव बिमल भारतीले जानकारी दिए।
उनका अनुसार विपद्मा परेका भोटेकोशी क्षेत्रका नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले विभिन्न देशमा रहेका झापाली समाजका राष्ट्रिय समितिहरूको सहकार्यमा राहत संकलन अभियान सञ्चालन गरिएको थियो।
यसैगरी, झापाली समाज अष्ट्रेलियाले ११ हजार ४६१ अष्ट्रेलियन डलर सहयोग गरेको जनाइएको छ। राहत रकम हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपद्को समयमा अन्तर्राष्ट्रिय झापाली समाजले गरेको मानवीय सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।
झापाली समाज कतारले राहत अभियानमा सहयोग गर्ने विभिन्न देशका राष्ट्रिय समितिहरू, सहयोगदाता तथा अभियानमा जोडिएका सबैप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि यस्तै मानवीय कार्यमा सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।


