
भद्रपुर, २४ भदौ । झापाको भद्रपुरमा निर्माणाधीन भवनमा मार्बल अनलोड गर्ने क्रममा मार्बलले थिच्दा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–कोटेश्वर, राममन्दिर बस्ने करिब ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन् ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब १२ः४५ बजे भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माण भइरहेको नयाँ भवनमा मार्बल अनलोड गर्ने क्रममा दुर्घटना भएको हो ।
भवनमा प्रयोगका लागि ल्याइएको मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट मार्बल झार्ने क्रममा खड्कामाथि मार्बल खसेर थिचिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको थियो ।
अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


