
बिर्तामोड, २५ भदौ । नेपाली कांग्रेसका संस्थापक तथा जननायक वी.पी. कोइरालाको जन्मजयन्तीको अवसरमा झापामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। जिल्लाका विभिन्न स्थानमा विचार गोष्ठी, माल्यार्पण, सहयोग तथा अग्रज प्रजातान्त्रिक योद्धालाई सम्मानलगायतका कार्यक्रम सम्पन्न भएका छन्।
वी.पी. स्मृति प्रतिष्ठान झापाले भद्रपुर–१० स्थित वी.पी. कोइरालाको शालिक परिसरमा विचार गोष्ठी आयोजना गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वी.पी.को प्रजातान्त्रिक समाजवादी विचार र राजनीतिक योगदानको चर्चा गर्दै २०१५ सालमा उहाँले गठन गरेको मन्त्रीमण्डल समावेशी रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, नेपाली कांग्रेस दमक नगर समितिले विचार गोष्ठीसहित दमकस्थित बशिष्ठ संस्कृत गुरुकुल विद्यापीठलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ। विद्यापीठको अक्षयकोष वृद्धिका लागि नेपाल महिला संघकी केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ। नगर समितिले बटुकका लागि चामल, दाल, चिउरा, चिनी, तेल तथा विभिन्न साबुनलगायत सामग्रीसमेत प्रदान गरेको जनाएको छ।
कनकाईमा पनि वी.पी. वनबाटिकामा रहेको वी.पी.को शालिकमा माल्यार्पणपछि विचार गोष्ठी आयोजना गरिएको छ। कार्यक्रममा कोशी प्रदेश सांसद लख्खीदेवी गणेश, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले वी.पी.को राजनीतिक योगदानबारे चर्चा गर्नुभयो।
यसै अवसरमा गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान गौरादहले ९० वर्षभन्दा माथिका चारजना अग्रज प्रजातान्त्रिक योद्धालाई घरमै पुगेर सम्मान गरेको छ। सम्मानित हुनेमा कमल–२ का ९३ वर्षीय खड्गबहादुर ढुंगाना, शिवसताक्षी–११ का ९३ वर्षीय देउकुमार राई, बिर्तामोड–३ का ९१ वर्षीय डिल्लीप्रसाद सिटौला र बिर्तामोड–३ का ९६ वर्षीय कृष्णबहादुर दाहाल छन्।
वी.पी. कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो। नेपाली कांग्रेसका संस्थापक कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रमुख नेता हुनुका साथै नेपाली साहित्यमा समेत महत्वपूर्ण योगदान पुर्याउने साहित्यकारका रूपमा चिनिनुहुन्छ। उहाँका तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदीआइन, हिटलर र यहुदी लगायतका कृति प्रकाशित छन्।


