
काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्।
काठमाडौँ मेडिकल कलेज (केएमसी) को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने उनले बताए। मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको समेत उनले जानकारी दिए।
स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने उनले बताए। पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न नेता कोइरालाले खेलेको भूमिकाबारे आउँदो पुस्तामाझ पुर्याउन आवश्यक रहेको उनले उल्लेख गरे।
सभापतिलाई साक्षी राखेर निःशुल्क शल्यक्रियाको घोषणा गर्दै उनले भने, ‘पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने एक हजार वटा मेजर अप्रेसनहरू हामी काठमाडौँ मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर निःशुल्क गर्ने घोषणा गर्न चाहन्छौँ।’
विद्यार्थीका लागि छात्रवृत्तिको तयारीबारे बोल्दै उनले थपे, ‘अब हामीले मेडिकल कलेजमा केही छात्रवृत्तिहरूको घोषणा गर्ने सोचिराखेका छौँ। यो विषयमा दिदीसँग सल्लाह गरेर तपाईंहरुलाई भन्ने छु।’
पार्टी प्रवेश र गिरिजाप्रसाद कोइरालाको योगदान स्मरण गर्दै उनले भने, ‘अहिलेको सभापतिज्यू पनि गिरिजा बाबुकै प्रोडक्ट हो। त्यो साधारण सदस्यता हुन्छ नि, त्यो गिरिजा प्रसाद कोइरालाको हातबाट साइन गरेर दिल्ली बाहिर मलाई लगेर गराउनुभएको थियो। त्यतिबेला मोरङको उपसभापति दिलीप सापकोटा हुनुहुन्थ्यो। साधारण सदस्यता पनि मैले चाहिँ गिरिजा बाबुको हातबाट साइन गरेर लिएको हो।’


