
काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।
राष्ट्र बैङ्कको निर्देशनसँगै केही बैङ्क तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दसैँ मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिँदैन । हामीले यो ढङ्गले गर्न लागेका हौँ ।”
प्रवक्ता पौडेलले यही असोज १ गतेदेखि राष्ट्र बैङ्कको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैङ्कबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले पनि विगत ४्र्र््–५ वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत भदौ ३१ गतेसम्म रु सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन भएको छ । सो रकमको करिब ८ देखि १० प्रतिशतसम्मको रकम दसैँमा वृद्धि हुने अनुमान गरेका छौँ ।”


