झापा, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारी टिम चयन भएको छ। सभापति थापासहित १७ जना निर्वाचनबाट चुनिएका हुन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।
विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा नियमित महाधिवेशनमा पनि भारी मतान्तरसहित निर्वाचित भएका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र पाए।
खुला उपसभापतिका दुई पदमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भए। उनीहरूले गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्रमोहन यादवलाई पराजित गरेका हुन्।
समावेशी उपसभापतिमा उद्योगपति विनोदकुमार चौधरी निर्वाचित भए। उनले जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णलाई पछि पारे।
महामन्त्रीका दुई खुला पदमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए। उनीहरूले डा. सुनिल शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुन मगर, शंकर तिवारी र डा. सन्तोष उपाध्यायलाई पराजित गरेका हुन्।
महिला महामन्त्रीमा डा. डिला सङ्ग्रौला निर्वाचित भइन्। प्रतिस्पर्धामा रहेकी महालक्ष्मी उपाध्याय ‘डिना’ दोस्रो र रीता खनाल तेस्रो भइन्।
११ सहमहामन्त्री पनि निर्वाचित
कांग्रेसमा विभिन्न समूह र समावेशी क्लस्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन्।
खुला सहमहामन्त्रीका दुई पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भए। खस–आर्यतर्फ मनोजमणि आचार्य, थारूतर्फ योगेन्द्र चौधरी र मधेसीतर्फ अजयकुमार चौरसिया निर्वाचित भए।
महिलातर्फ प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तामाङ, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’, पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही तथा मुस्लिमतर्फ डा. फिर्दोश आलम निर्वाचित भए। अल्पसंख्यक तथा अपांगतातर्फ आङ्गेलु शेर्पा विजयी भए।
खस–आर्यतर्फ आचार्यले जगदीश्वरनरसिंह केसी, दिनेश कोइराला र शुभराम बस्नेतलाई पराजित गरे। थारूतर्फ योगेन्द्र चौधरीले तेजुलाल चौधरी र सुरेन्द्र चौधरीलाई हराए।
मधेसीतर्फ चौरसियाले महेन्द्र यादव, अभिषेकप्रताप शाह, किरण यादव, रामपल्टन साह, नगिना यादव, मुक्ता कुमारी यादव र मनिषकुमार मिश्रलाई पछि पारे। महिलातर्फ गौतमले नानुमैयाँ बास्तोलालाई पराजित गरिन्।
आदिवासी जनजातितर्फ लामाले ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्तमान सिंह मास्केलाई हराए। दलिततर्फ स्नेही विजयी हुँदा मानबहादुर नेपाली दोस्रो र नरेन्द्र पासवान तेस्रो भए।
पिछडिएको क्षेत्रतर्फ शाहीले जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्टलाई पराजित गरे। मुस्लिमतर्फ आलमले अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई हराए। अल्पसंख्यक तथा अपांगतातर्फ शेर्पाले नगेन्द्रकुमार कुमाल र बाबुकृष्ण सापकोटालाई पछि पारे।
१९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर
नवनिर्वाचित १९ सदस्यीय पदाधिकारी टिममा १६ जना विशेष महाधिवेशन पक्षधर रहेको विवरण सार्वजनिक भएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका तीन जना मात्र निर्वाचित भएका छन्। उनीहरूमा खुला सहमहामन्त्री रामहरि खतिवडा, पिछडिएको क्षेत्रका सहमहामन्त्री जीवनबहादुर शाही र मधेसी सहमहामन्त्री अजयकुमार चौरसिया छन्।
चौरसियाले गत वैशाखमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह छाडेका थिए भने खतिवडा र शाहीले असोज १ गते उक्त समूह छाडेका थिए।
सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीसहित प्रमुख पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरको वर्चस्व देखिएको छ। विशेष महाधिवेशनको विपक्षमा उभिएका तथा देउवा समूहमा रहेका नेताहरू मुख्य पदाधिकारी पदमा पुग्न असफल भएका छन्।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मालाई निर्विरोध निर्वाचित गराइएको थियो। महिला उपसभापतिको पद थपिएपछि पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भइन्। खुला उपसभापतिमा भण्डारी र आचार्य तथा समावेशी उपसभापतिमा चौधरी विजयी भए।
भण्डारी विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भए पनि त्यसपछि कार्यसमितिमा सहभागी भएका थिएनन्। तर, थापा नेतृत्वको कार्यसमितिले मान्यता पाएपछि उनले उक्त नेतृत्वलाई समर्थन गरेका थिए।
महामन्त्रीमा निर्वाचित पौडेल १४औँ महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवार बनेर पराजित भएका थिए। विशेष महाधिवेशनबाट महामन्त्री बनेका उनी नियमित महाधिवेशनबाट पुनः निर्वाचित भए। राणा पनि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए। यसपटक उनी महामन्त्रीमा निर्वाचित भएका छन्।
महिला महामन्त्रीमा पराजित डिना पनि असोज १ गते देउवा समूह छाडेर थापा नेतृत्वको कांग्रेसमा समाहित भएकी थिइन्। उनकै नेतृत्वमा तत्कालीन देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिका ५२ पदाधिकारी तथा सदस्य थापा नेतृत्वको कांग्रेसमा समाहित भएका थिए। महिला महामन्त्रीको पद सिर्जना गरिए पनि उक्त पदमा डिनालाई पराजित गर्दै सङ्ग्रौला निर्वाचित भइन्।
महाधिवेशन प्रतिनिधिहरूले उपसभापति र महामन्त्रीका छ पदमध्ये अधिकांशमा विशेष महाधिवेशन पक्षधरलाई विजयी गराएका छन्। सहमहामन्त्रीका ११ पदमध्ये नौ पदमा पनि विशेष महाधिवेशन पक्षधर निर्वाचित भएका छन्।
केन्द्रीय समितिमा पनि विशेष महाधिवेशन पक्षधरको बहुमत
महाधिवेशनबाट २०९ जना केन्द्रीय सदस्यसमेत निर्वाचित भएका छन्। तीमध्ये करिब ९० प्रतिशत विशेष महाधिवेशन पक्षधर रहेको विवरणमा उल्लेख छ।
कांग्रेसको २९८ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले ७० जना मनोनित गर्न पाउने व्यवस्था छ। पदाधिकारीतर्फ सभापति थापाले अब चार जना सहमहामन्त्री र एक जना कोषाध्यक्ष मनोनित गर्न बाँकी छ।


